यस्तो सम्म गर्छन मान्छेहरूः चराको बासस्थानका लागि ३ लाखको फ्ल्याट


एजेन्सी । भारतको गाजियाबाद डेभलपमेन्ट अथरिटीका कार्यकारी प्रमुखको आवासमा पाँच तले बड्र्स हाउजिङ प्रोजेक्ट शुक्रबार तयार गरिएको छ ।  करीब ३ लाख २० हजार रुपैयाको लागतमा निर्मित यस बड्र्स टावरमा ६० शेल्टरहरु रहेका छन् । अर्थात प्रत्येक फ्लोरमा १२ पंछी रहन सक्नेछन् । घाम र गर्मीबाट बचाउनका लागि यसमा ठूलो छाताले ढाकिएको छ । यस फ्ल्याटभित्र साना चराहरु जस्तै भँगेरा, सुगा, बुलबुल आदि बस्न सक्छन् ।

जीडीए अधिकारीहरुका अनुसार यदि यो प्रोजेक्ट सफल रहेमा अर्थात यसमा चराहरु बस्न थालेमा अन्य थुपै स्थानमा यस्ता फ्लाटहरु निर्माण सुरु गरिने पनि बताइएको छ । यसका साथै उक्त फ्ल्याटमा दाना राख्ने प्रयोजनका लागि एकजना व्यक्तिलाई नियुक्त गरिएको छ । चराहरुलाई बिरालो तथा कुकुरले हानी नपुर्याउन् भन्दै यस टावरलाई १० फिट अग्लो फलामको खम्बामा बनाइएको छ । यो टावर ७ फिट अग्लो रहेको छ ।

यो पनि हेर्नुहाेसः कुखुराले आफ्नो ‘बास्न पाउने’ स्वतन्त्रताको रक्षा गर्‍यो

एजेन्सी, – फ्रान्समा भने एउटा कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अदालतले आदेश दिएको छ । मुलतः कुखुरा ‘कुखुरी काँ’ भनेर बास्ने गर्दछ । अझ ‘कुखुरी काँ’ भनेर झिसमिसेमै कुखुरा बासेसँगै विहानी भएको संकेत मिल्ने गर्दछ । तर संसारलाई स्वतन्त्रताको सन्देश प्रसार गर्ने फ्रान्समै झण्डै कुखुराले आफ्नो बास्ने अधिकार अर्थात् अभिव्यक्ति स्वतन्त्रता गुमाइसकेको थियो । त्यसका लागि उसले अदालतसम्मको यात्रा गरेर आफ्नो अधिकारको रक्षा गर्नुपरेको छ ।

कुरा हो फ्रान्सको एक ग्रामीण क्षेत्र ओलनको मौरिस नामको कुखुराको । मौरिसले विहान विहान उच्च आवाजमा बास्दा आफ्नो निद्रा खल्बलिएको भन्दै एक धनाढ्य भलाद्मीले कुखराविरुद्ध अदालतमा उजुरी दिए । शहरको खलबलबाट जोगिन ओलनमा दोस्रो घर किन्न पुगेका धनाढ्य त्यतिबेला चित खाए जब विहानीपख आनन्दको निन्द्रा तिनै चार वर्षीय मौरिसको ठूलो हूँकारसहितको ‘कुखुरी काँ’ आवाजले खल्बल्याइदिन्थ्यो ।

कुखुराको बसाईबाट दिक्क भएका ज्याँ लुई बिहोनले मौरिसका मालिक छिमेकी जैकी र उनकी पत्नी कोहिनाविरुद्ध अदालतमा मुद्दा हाले । त्यसअघि लुईले सन् २०१७ मा कुखुरालाई चूप गराउन उसको मालिकलाई पत्राचार नै गरेका थिए । अदालतमा कुखुरा र धनाढ्य भलाद्मीका पक्ष विपक्षमा गरमागरम बहस भयो । यो मुद्दा फ्रान्समा राष्ट्रिय बहसको विषय नै बन्यो । ठूलो संख्याका फ्रान्सेली मौरिसको बास्ने अधिकार रक्षाका लागि समर्थनमा देखिए । उनीहरुले अनलाइन अपील नै दायर गरे ।

लुईका वकीलले शान्ति भंग गराएको आरोपमा मौरिसका मालिकलाई ठूलो मात्रामा जरिवाना तिराइनुपर्ने माग गरेका थिए । तर अदालतका न्यायाधीशले भने मौरिसकै पक्षमा फैसला सुनाए र उसको बास्ने अर्थात् अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरे । अदालतले लुईको माग विपरित मौरिसको मालिकलाई दुःख दिएको भन्दै एक हजार एक सय डलर जरिवाना तोकिदियो ।

मौरिसको समर्थन र अधिकारका लागि झण्डै डेढ लाख हस्ताक्षर संकलन गरिए । मानिसले मौरिसको तस्वीर अंकित सर्ट लगाउन थाले । मौरिसको बास्ने अधिकार रोक्न खोजेकामा मानिसमा आक्रोश देखिन्थ्यो । अदालती फैसलाबाट खुशी भएकी मौरिसकी मालिक कोहिनाले गाउँलाई गाउँकै विशेषतामा रहन दिनुपर्ने भन्दै यस फैसलाबाट मौरिसले पूरै फ्रान्सको लडाईं जितेको प्रतिक्रिया दिइन् । अब यहि नजीरलाई टेकेर अदालतमा परेका अरु यस्तै प्रकृतिको मुद्दा छिन्न सजिलो भएको पनि बताइएको छ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com