प्राविधिक शिक्षामा जोड दिने – महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थापा

बाबियाचौर, म्याग्दी १६ फागुन (रासस) – महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नेपालमा रोजगारी सिर्जनाका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिने बताउनुभएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले देश विकासका लागि दक्ष जनशक्ति उत्पादन र आफ्नै देशमा काम गरेर बस्ने वातावरण बनाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

देशलाई औद्योगिकीकरण गरी आर्थिक रुपमा सम्पन्न बनाउन हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गरिने मन्त्री थापाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले जिल्लाका खेल प्रतिभाको पहिचान गरेर प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पु¥याउन प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले गाउँगाउँमा लाग्ने मेलालाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा मालिका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३० विद्यालयका ५०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।

कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्षसम्मका विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिता अन्तर्गत कबड्डी, भलिबल, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो विधामा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल विधामा उत्कृष्ट खेलाडीलाई रु एक हजार ५०० का दरले पुरस्कृत गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host