पत्रकारद्वय मुकुन्द भण्डारी र धिरेन्द्र चटौत सम्मानित

धनगढी, १८ फागुन (रासस) : डोटेली भाषा र संस्कृतिको संरक्षणमा योगदान पुर्याउनु हुने पत्रकारद्वय मुकुन्द भण्डारी र धिरेन्द्र चटौत ‘हेम मल्ल स्मृति आम सञ्चार’ पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले पत्रकारद्वयलाई जनही रु ११ हजार १११ र सम्मान पत्र तथा दोसल्लाद्वारा सम्मान गर्नुभयो ।

डोटी जिल्लाका सञ्चारकर्मी स्वर्गीय हेम मल्लको सम्झनामा, सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीको पहलमा ‘हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार स्थापना गरिएको थियो । स्थानीय एक सञ्चार माध्यममा कार्यरत पत्रकार एवं साहित्यकार हेम मल्लको दुई वर्षअघि भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

पत्रकार चटौत र भण्डारीले विसं २०५७ देखि रेडियो नेपालबाट डोटेली भाषाको समाचार बाचकका साथै डोटेली भाषामा समाचारमूलक कार्यक्रम र सांगीतिक कार्यक्रम, हजारी माला लगायतका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host