विवाह दर्ता र नागरिकता नहुँदा राज्यको सेवाबाट वञ्चित

महोत्तरी, १९ फागुन (रासस): विवाह दर्ता र नागरिकता नभएपछि महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी रायले राज्यबाट पाउने हरेक सेवा सुविधाबाट वञ्चित भएकी छिन् । हुनेखाने उमेरमा ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठिनाइ भएको छ ।
घरका अभिभावकले आवश्यक परेको खण्डमा पैसा नदिएपछि सोनावतीलाई बाँकी जीवनयापन गर्न समस्या भएको हो ।

उनको एकमात्र १२ वर्षका छोरा राहुलले विद्यालयमा शिक्षादिक्षा पाउनसकेका छैनन् । उचित शिक्षादिक्षा एवं संरक्षणको अभावमा दिनभरी भौतारिँदा छोरा राहुलको भविष्यलाई लिएर आफू चिन्तित रहेको सोनावतीले बताउनुभयो ।
आफुुसँग नागरिकता एवं विवाह दर्ता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

सो वडाका वडाअध्यक्ष नरेश यादवले अब आफूले नागरिकता एवं विवाह दर्ताका लागि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

विवाह भएको ३५ दिनको अवधिमा विवाह दर्ता बनाए कुनै किसिमको यस्ता समस्या समाजमा सिर्जना नहुने इलाका प्रशासन कार्यालय गौशालाका प्रशासकीय अधिकृत कामेश्वर यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host