फोटो पत्रकारितालाई प्राथमिकतामा राख्ने : मन्त्री बाँस्कोटा

काठमाडौँ, २० चैत ९रासस०: सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताउनुभएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र बुझ्दै उहाँले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताउनुभयो ।फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गर्दै उहाँले फोटो पत्रकारको रचनात्मक कार्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री बाँस्कोटालाई समूहका सचिव प्रदीपराज वन्तले सात बुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो ।
ज्ञापनपत्रमा फोटो पत्रकारको जीविकोपार्जनका लागि न्यूनतम् पारिश्रमिक निर्धारण राज्य पक्षबाट गराउनुपर्ने, फोटो पत्रकारले जोखिम भोलि कार्यसम्पादन गर्नुपर्ने भएकाले जीवन बीमाको साथै सञ्चार सामग्री ९क्यामेरा० को पनि बीमाको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारको राजकीय तथा अन्य उच्चस्तरीय विदेश भ्रमण हँुदा फोटो पत्रकारलाई संलग्न गराउनुपर्ने, लेख्ने पत्रकारसरह फोटो पत्रकारलाई पनि समान अवसर मिल्ने वातावरण बनाउनुपर्ने लगायतका माग रहेका छन् ।
यसैगरी फोटो पत्रकारको हकहितका लागि रु ५० लाखबराबरको अक्षय कोषको स्थापना गर्नुपर्ने, ‘राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ का निम्ति राज्यबाट न्यूनतम रु २० लाख बराबरको अनुदान रकम हरेक वर्ष छुट्याउनुपर्ने लगायतका माग रहेका छन् ।
यसैगरी समूहले आउँदो वैशाख १३ गते मनाउन लागेको फोटो पत्रकारिता दिवसका बारेमा पनि मन्त्री बाँस्कोटालाई जानकारी गराइएको समूहका सचिव वन्तले बताउनुभयो । समूहमा ३३ जिल्लाका ५०० जना आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host