छायाँमा परेको गुल्मीको अर्जुन डाँडा

अनिल खत्री , संबाददाता – १९ फाल्गुन गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको दक्षिणतर्फ अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण स्थान हो, अर्जुन डाँडा । तर पर्याप्त प्रचार–प्रसारको अभावले यो छायामा पर्दै आइरहेको छ ।
करिब २ हजार मिटर उचाईमा रहेको अर्जुन डाँडामा वि.सं. १४९३ भन्दा पहिले स्थानीय राजाको दरबार रहेको बताइन्छ । त्यहाँ दरबारको भग्नावशेष अझैसम्म पनि रहेको बताइए पनि त्यसमाथि खोज तथा अनुसन्धान हुन सकेको छैन ।
पाँच पाण्डवमध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन डाँडा राखिएको जनविश्वास छ । अर्जुनले यही डाँडामा बसेर गीताको तत्व ज्ञान लिएको र शिवजीले ध्यान गर्ने गरेको किम्बदन्ती छ ।
यही मान्यताका आधारमा सयौं वर्षदेखि पूजा गर्ने प्रचलन रहेको छ । स्वच्छ हृदयले मागेको वरदान पग्ने जनविश्वास भएकाले पूजा गर्ने र बली चढाउनेको भीड लाग्ने गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तीलकबहादुर थापाले धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण हुँदा–हुँदै पनि यसको उचित प्रचार–प्रसार गर्न नसकिएको बताए ।
मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व हुँदा–हुँदै पनि चाहे जति प्रचार–प्रचार र अन्य भौतिक निर्माणको कमीले ओझेलमा परेकोले यसको वृहत्तर विकास गर्न आफू पनि लागि परेको रेसुङ्गा नगरपालिका–७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host