पोखरामा क्षेत्रीय पुष्प व्यापार मेलाको तयारी
कमल पौडेल, संबाददाता,पोखरा १६, फागुन – फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यान कास्कीको आयोजना तथा नेपाल सरकारको सहयोगमा यही फागुन २५ गतेदेखि २९ गतेसम्म पोखरामा सातौं पश्चिमाञ्चल पुष्प व्यापार मेला हुने भएको छ । पोखरा सभागृह परिसरमा आयोजना हुने सो व्यापार मेलामा करीव ३ सय प्रजातिका फूल विरुवाको प्रदर्शनी एवं विक्री हुने वुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मेलामा यो क्षेत्रका ३५ वटा व्यवसायिक नर्सरीका स्टल रहने मेला आयोजक समितिका संयोजक एवं फ्यान कास्कीका अध्यक्ष दयाकुमार द्धाले जानकारी दिएका छन् ।
मेला सम्पन्न गर्न रु ८ लाख ६० हजार खर्च हुने उनले वताए । सो अवसरमा वोल्दै उनले पोखरामा मात्र वार्षिक २ करोड वरावरको फूलको कारोवार हुने जानकारी दिए । हाल ८० प्रतिशत फूल स्थानीय उत्पादन नै भएपनि २० प्रतिशत फूल वाहिरवाट आयात गरिने संयोजक द्धाको भनाई छ ।
मेलामा फूलको प्रर्दशन र विक्रीको साथै सिजनल फूल, आलंकारिक फूल्ने विरुवा, नफूल्ने विरुवा, ल्याण्डस्केप र उत्कृष्ट स्टल वीच प्रतिस्पर्धा गराई पुरस्कार प्रदान गरिने फ्यानले जनाएको छ ।
संस्थाका अध्यक्ष दयाकुमार द्धाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सिकन्दरकुमार गुरुङ भोजे, पूर्व सचिव प्रेम खड्का र सचिव वलराम श्रेष्ठले आ आफ्ना भनाई राखेका थिए ।