कोष्टारिकाको राष्ट्रपतिमा कार्लोस अल्भाराडो विजयी

सानजोस, १९ चैत (रासस/सिन्ह्वा) : कोष्टारिकाको नयाँ राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार कार्लोस अल्भाराडो विजयी हुनुभएको छ ।

सिटिजन एक्सन पार्टी (पीएसी)को तर्फबाट उम्मेदवार हुनुभएका अल्भाराडोले ६०.७४ प्रतिशत मत प्राप्त गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोष्टारिकाको निर्वाचन आयोगले आइतबार राती अल्भाराडो निर्वाचित हुनुभएको घोषणा गरेको सञ्चार माध्यमहरूले समाचार संप्रेषण गरेका छन् ।

उहाँका निकटम प्रतिद्वन्द्वी फाब्रिसिओ अल्भाराडोले कुल खसेको मतको ३९.२६ प्रतिशत मत ल्याउनु भएको आयोगले जनाएको छ ।

प्रतिद्वन्द्वी फाब्रिसिओ ‘नेश्नल रेस्टोरेसन पार्टी’ (पीआरएन)को तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार हुनुभएको थियो । उहाँ इसाई पक्षीय उम्मेदवार मानिनुहुन्छ । यी दुई अल्भाराडोहरूका बीचमा खास कुनै नातेदारको सम्वन्ध छैन ।

नतिजा सार्वजनिक भएपछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै पराजित फाब्रिसिओले निर्वाचनको नतिजाले आफ्नो अभियानमा कुनै असर नपर्ने बताउनुभयो ।

उहाँले प्रतिपक्षमा रहेरै पनि कोष्टारिकाको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

मध्य अमेरिकी मुलुक कोष्टारिका रुढीबादी मुलुकका रूपमा चिनिन्छ । यस पटक निर्वाचन प्रचार प्रसारका बेला समलिङ्गी विवाहका बारेमा व्यापक बहस र छलफल भएको छ भने मतदाताहरू पक्ष विपक्षमा बाडिएका छन् ।

पराजित हुनुभएका फाब्रिसिओले समलिङ्गी विवाह आफ्नो देशको मुल्य मान्यता विपरित भएको भन्दै त्यसका विरुद्धमा उभिनु भएको थियो ।

तर राष्ट्रपतिमा निर्वाचित पुर्व मन्त्री समेत रहनु भएका कार्लोस अल्भाराडोले भने समलिङ्गी विवाहको पक्ष लिनु भएको थियो ।

फाब्रिसिओले निर्वाचनका समय कुनै विकास निर्माणको विषय नउठाइ केबल समलिङ्गी विवाहको विरोधलाई आफ्नो चुनावी एजेण्डा बनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host