घाँस दाउरा र मेलापात गर्दै पढे पढेर एसईईमा जिल्ला टप गरेका प्रितम भन्छन- ‘थप पढ्न पैसा छैन’

काठमाडौँ – भनिन्छ, ‘मेहनतको फल मिठो हुन्छ ।’ अहिले तेह्रथुमको संक्रान्तिका प्रितम बाँस्कोटा यस्तै मिठो फल चाखिरहेका छन् । गर्न अझै धेरै बाँकी नै छ तर अहिले प्राप्त एउटा फलले उनलाई खुशीले फुरुङ्ग बनाएको छ ।

भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा आफुले पाएको अंक जिल्लाकै सर्वाधिक भएको थाहा पाएपछि उनी मेहनतको फल मिठो हुने कुरामा विश्वासगर्न थालेका छन्। आर्थिक अवस्था कमजोर भएका प्रितमले घाँस दाउरा र मेलापात गर्दै पढेका हुन् । उनको परिवार सरकारी जग्गामा बस्दै आएको छ । आफुले धेरै नै दुख गरेर गाउँकै बोर्डिङ स्कुलमा छोरोलाई पढाएको र अहिले छोराले त्यसै अनुसारको नतिजा ल्याउँदा एकातिर खुशी र अर्कातिर केही चिन्ता पनि रहेको बुबा मदन बास्कोटाले बताए ।

उनले भने, ‘छोराको नतिजाले एकदमै खुशी त लागेको छ तर,हामी आर्थिक रुपमा सबल होइनौँ। उसलाई घरकै खाना खाएर नजिकैको उच्च माविमा पढ्न भनेको हो मानेन, साइन्स पढ्ने भन्दै विर्तामोड पुगेको छ। उसले पढ्न त सक्छ, तर पढाउने पो कसरी भन्ने चिन्ता बढेको छ ।’ सानैदेखि मेहनती प्रितम नर्सरीदेखि नै कक्षामा पहिलो हुन्थे । उनलाई पढाउने स्थानीय मिचुङ इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक दिलबहादुर लामा उनी विद्यालयमा एकदमै मेहनती र मिलनसार रहेको बताउँछन् ।

आफ्नो शिष्यले पाएको सफलताले आफु र सिंगो विद्यालयलाई खुशी बनाएको र अबको उनको यात्रामा पनि केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको उनले बताए। विद्यालयले प्रितम जेहेन्दार र कक्षाको प्रथम विद्यार्थी भएकाले छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । प्रितमले एसईई भने श्रीकृष्ण मावि डाँडागाउँबाट दिएका हुन् । प्रितमले ३ दशमलव ७ जीपीए ल्याएको र उनको प्राप्ताङ्कलाई प्रतिशतमा बदल्दा ९२ दशमलव ५ प्रतिशत हुने शिक्षक लामाले बताए । ‘कक्षामा पढेको विषयलाई घरमा वा गोठालो जाँदा पनि दोहोर्याएर पढ्ने गरेको र यसले आफुलाई धेरै नै सहयोग गरेको प्रित,मले बताए ।

उनी भन्छन्– ‘म गोठालो जाँदा पनि किताब सँगै लिएर जान्थेँ । घरमा हुँदा घाँस दाउरा पनि गरेको छु । मेलापात त स्वभाविक नै हो नि ।’ आफुले भ्याएसम्म र सकेसम्म घरपरिवारलाई काममा सघाउने गरेको उनले बताए। ‘अब दुःख सुखै गरेर भएपनि विज्ञान विषय लिएर पढ्छु’ प्रितम भन्छन्, ‘गाउँमा पनि दुःख गरिएकै हो । दुःख गर्न डर छैन, विद्यालयमा पनि मैले स्कलरसिपमा पढेको थिएँ अब पनि पाउँछु होला भन्ने आशा छ । त्यसो भयो भने मलाई धेरै नै सहज हुने थियो ।’

आफ्नो क्षमतामा गर्व गर्ने प्रितम आर्थिक सहयोगको अपेक्षामा देखिन्छन् । विज्ञान विषय उनको रुचीको विषय हो । कसै गरी पनि पढ्ने अठोट मनमा कायम छ तर पनि मनको एक कुनामा कसैले सहयोग गरेको भए अझै सजिलो हुने आस पनि छ । उनका बुबा पनि त्यस्तै सहयोगको आशामा छन् । ‘आफु्ले त पढ्नै पाइएन, छोरोले यति राम्रो नम्बर ल्याएर पास गरेको छ, तर उसको इच्छा अनुसार घर बाहिर बसेर विज्ञान विषय पढाउन पो नसकिने हो कि भन्ने भएको छ ।

छोराको रहर मार्न पनि मन लाग्दैन, नमारौँ धान्न सकिने अवस्था छैन’ उनले भने । प्रितमको घरमा केही बाख्रा र एउटा दुहुनो गाइ छ । त्यहि गाईको दुध बेचेर घरखर्च टार्ने गरेको उनले बताए । अब कतैबाट सहयोग नपाए बाख्रा र गाई बेचेरै भएपनि छोरोलाई भर्ना गरिदिने योजना रहेको प्रितमका बुबा मदनले बताए ।

‘तर गाइ बाख्रा बेचेरै भएपनि अहिले भर्ना गर्ने पैसा जुटाएँ भने पनि त्यसपछिको पैसाको जोहो कसरी गर्ने भन्नेबारे केही थाहा छैन’ उनले भने । घरभन्दा टाढा डेरा लिएर विज्ञान विषय पढ्दा धेरै रकम खर्च हुने उनलाई थाहा छ। प्रितम पढाइका साथै साहित्यमा पनि रुची राख्छन् । कविता र गीतका साथै लेखहरु लेख्न आफुलाई मन पर्ने उनले बताए । यसका साथै उनी भजनकीर्तनमा पनि उत्तिकै सक्रियताका साथ सहभागि हुने उनका बुबाले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host