भलाममा क्षमता अभिवृद्धिको लागि स्वास्थ्य शिक्षा कार्यक्रम

सूर्य बाँस्तोला ,संबाददाता, पोखरा, २१ फागुन । कोइका प्रोजेक्टको सहयोग र भलाम स्वास्थ्यचौकीको आयोजनामा पोखरा २० भलामका आमा समूहहरुका सदस्यहरुलाई स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । साविक भलाम गाविस हाल पोखरा लेखनाथ म.न.पा.वडा नं. २० का आमासमूहहरुको क्षमता अभिवृद्धिको एवं स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरिएको स्वास्थ्य शिक्षा कार्यक्रमबाट स्थानीय आमा समूहका सदस्यहरुलाई रोगबाट बचाउनका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिएको स्वास्थ्यचौकीका अहेव अधिकृत नारायणप्रसाद बास्तोलाले बताउनुभयो ।

उक्त अवसरमा प्राथमिक उपचार एवम् पाठेघरका साथै स्तन क्यान्सर महिलाहरुलाई महिनावारी हुने बेलामा प्रयोग गरिने प्याडबारे जानकारी लगायत महिलाहरुमा हुने विभिन्न प्रकारका रोगहरुको प्राथमिक उपचारको बारेमा जानकारी गराइएको थियो ।

भलामका विभिन्न स्थानमा गरी फागुन ८ गतेदेखि २१ गतेसम्म संचालित स्वास्थ्य कार्यक्रममा हे.अ.अमृता पौडेल, अहेव अधिकृत नारायण प्रसाद बास्तोला, सि.अनमी अधिकृत जसमाया सिग्देल, कोरियन भोलिन्टियर ह हवा उपन, सि.अनमी नानु भुजेल, अहेव गायत्री काउछाले सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा ३ गाउँघर क्लिनिक भवन समेत निर्माणको थालनी गरी स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा रु.२५ लाख बराबरको भवन निर्माणको लागि सहयोग उपलब्ध गराइने अहेव अधिकृत नारायण प्रसाद बास्तोलाले बताउनुभयो ।

स्थानीय आमा समूहकी अध्यक्ष राधा बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा कोइकाका कोरियन भोलिन्टियर ह हवा उपनले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host