चलचित्र “भेडी गोठाले”का कलाकार र प्राविधिक सम्मानित

रूद्र श्रीसमगर , पोखरा, २१ फागुन,गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र “क्यु प्ह्रो छे” अर्थात् “भेडी गोठाले”का कलाकार र प्राविधिकहरू सम्मानित भएका छन् ।
कलाकार र प्राविधिकहरूलाई सोमबार चलचित्रको निर्माण पक्षले सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं मिलन डी.जी. इन्टरनेशनल प्रालिकी संरक्षक सावित्री गुरुङले कलाकार एवं प्राविधिकहरूलाई सम्मानपत्र, खादा, फेटा र बुकेद्वारा सम्मान गर्नुभयो ।
सो अवसरमा बोल्दै मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष एवं चलचित्र भेडी गोठालेका कार्यकारी निर्माता दुर्गा गुरुङ “मिलन”ले राम्रो चलचित्र बनाउन कलाकार, प्राविधिक र निर्माताको उत्तिकै भूमिका हुने बताउनुभयो । “म सबैलाई धन्यवाद दिन चाहन्छु”, गुरुङले भन्नुभयो, “चलचित्र सफल बनाउन भूमिका खेल्ने कलाकार, प्राविधिक, निर्देशक एवं निर्मातालाई विशेष रुपमा सम्झन चाहन्छु ।”
कार्यक्रममा तमु प्ये ल्हु संघ कतार शाखाका निवर्तमान अध्यक्ष सान गुरुङ, मिलन फाउण्डेशन नेपालका कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङ, बाजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्णकला केसी, समाजसेवी जयबहादुर सुवेदी, समाजसेवदी चित्रबहादुर कुँवर र मिस तमुस्यो–२०१६ की बिजेता निशा गुरुङले चलचित्रले उठाएको विषयवस्तुलाई दर्शकले रुचाएको भन्दै मौलिक कथा र पात्रका कारण चलचित्रले सफलता प्राप्त गरेको बताउनुभयो ।
त्यस्तै, चलचित्रका नायक राजेश गुरुङ, नायिका अश्मी गुरुङ, नायिका एवं चलचित्र प्रदर्शन संयोजक खुशी गुरुङले चलचित्रमा अभिनय गर्ने अवसर दिएर दर्शकसामु चिनिने अवसर दिएको भन्दै कार्यकारी निर्माता दुर्गा गुरुङ “मिलन”, निर्देशक सुवास गुरुङलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
मिलन डी.जी. इन्टरनेशनल प्रा.लिका अध्यक्ष दुर्गा गुरुङ “मिलन”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक देउकी सिंजाली “दिपिका” र प्रवक्ता रूद्रबहादुर श्रीसले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host