“धार्मिक सद्भाव,को नमुना बस्ती,,

“बयालपाटा, अछाम:-हिन्दु धर्म मान्नेहरू जहिले अछाममा बसोबास गर्न आए त्यति नै लामो इतिहास अछाममा बस्ने मुस्लिम समुदायको छ । बयालपाटा बजारको पूर्वतिर, मध्यपहाडी लोकमार्गको बीचमा रहेको बस्तीमा बसोवास गर्ने मुस्लिम समुदाय र आसपासका गाउमा बस्ने हिन्दु समुदायबीच वर्षौंदेखि शान्तिपूर्ण सद्भाव र मेलमिलाप छ । सामाजिक र धार्मिक सदभावका कारण बयलपाटा क्षेत्र जिल्लाकै नमुना बस्ती हो ।”

“यो गाउँ शान्त देखिनुको एउटै कारण हो यहाँ कसैले पनि मदिरा सेवन गर्दैनन् । धर्मले नै मदिरा खान निषेध गरेको भन्दै कसैले कसैलाई सम्झाऊन नपर्ने यहाँका स्थानीय बताउँछन् । सामाजिक सद्भाव कायम गर्दै हिन्दु समुदायको बाहुल्यता भएको समाजमा हातेमालो र सहकार्य गर्दै बसेका मुस्लिम समुदाय पनि खुसी देखिन्छन् । हिन्दु धर्मावलम्वीको जस्तै भेषभुषा, रहनसहन भएको यो समुदायका स्थानीय एक हजार वर्ष अघि भारतको लखनउबाट आएर अछाममा बसेको बताउँछन् ।”

“यस समुदायका अगुवा केशर मियाँका अनुसार चुरा बनाउने मुख्य पेसा अपनाउने भएकाले टोलको नामै त्यसैबाट राखिएको थियो । यो पेशा व्यवसाय गर्ने क्रम छुटेपछि अहिले गाउँको नामै परिवर्तन गरिएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ८ मा पर्ने यो गाउँलाई नगरले मियाँपुर नाम राखेको छ । अहिले गाउँको नाम मात्रै बदलिएको छैन, शिक्षा रोजगारीका लागि यो समुदाय पेशागत रुपान्तरण हुन लागेको छ ।”

“इस्लाम धर्मको संरक्षणका लागि मियाँपुरका सबैमा एकताको भावना समेत सिर्जना भएको छ । अल्पसंख्यक समुदायको रुपमा चिनीने यो गाउँमा २५ परिवार र २१० जनसंख्या रहेको मियाँले बताए । मियाँलाई अरुले गरिब पिछडिएका भनेर सम्बोधन गर्दा दुःख लाग्छ । ‘बहुसंख्यक समुदायको जस्तै भिर पाखामा जग्गा छ । बगरमा खेत छन् । अरु भन्दा अचल सम्पत्तिमा धनी छौं’ उनी भन्छन्, ‘हामी शिक्षामा कमजोर छौं । समयमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने नबुझ्दा हामीलाई हेर्ने दृष्टिकोण फरक भएको होला । तर हामी मनका गरिब छैनौं ।’ उनका अनुसार अहिले गाउँमै मस्जिद छ । जहाँ नमाज पढिन्छ । यसले आफ्नो धर्ममा आबद्ध भएकाहरूलाई अनुशासनमा बस्न सिकाएर गाउँ नै शान्त भएको उनी बताउछन् ।

“शिक्षाको क्षेत्रमा पछि परेको ठहर गर्दै यहाँका अगुवाहरूको नेतृत्वमा मदरसा दारुल कुरआना प्राथमिक विद्यालय २०६६ सालमा खुल्यो । कक्षा १ देखि ३ सम्म पढाइ हुने यो विद्यालयमा धार्मिक शिक्षा र विद्यालयको शिक्षा दिने गरिएको सोही विद्यालयका शिक्षक शम्भु मियाँले बताए । ‘एक हजार वर्ष अघि आएर बसेका हाम्रो पहिचान के हो त भनेर संघर्ष गर्‍यौं, गाउँमै मदरसा खोल्न सफल भयौं’ शिक्षक मियाँले भने, ‘अहिले २३ जना विद्यार्थी छन् । धार्मिक विषय पढाउने शिक्षकले उर्दु भाषाबाट पढाउँछन् । अरुले अन्य विद्यालयको जस्तै पाठ्यक्रम पढाउँछन् ।’

“उनका अनुसार गाउँमा पढेलेखेका र जागिर गर्नेको संख्या कम छ । गाउँमा स्नातक गरेका १ जना र अन्य शिक्षा पाएका ५/७ जना मात्रै छन् । यो समदायबाट अहिलेसम्म सरकारी जागिरमा कोही छैनन् । अरु समुदाय जस्तै मियाँपुरका प्रत्येक परिवारबाट रोजगारीको लागि भारत गएका छन् । ६ जना साउदी अरबमा कामका लागि गएका छन् ।

“हिन्दु धर्मको प्रभाव कायमै“”

स्थानीयका अनुसार हिन्दु धर्म मान्ने महिलाहरूले महिनावारी भएको बेला छाउ गोठमा गए जस्तै यहाँका महिलाहरू १५ वर्ष अघिसम्म छाउगोठमा जान्थे । घरमा पस्दैनथिए । विस्तारै आफ्नो धर्मले छाउ नबार्ने थाहा पाएपछि अहिले भने घरमै बस्छन् । ‘हाम्रो धर्मका एक जना गुरु बाहिरबाट आउनु भयो । घर भन्दा टाढा सानो कटेरो देखेपछि यो के हो भनेर सोधपुछ गर्दा छाउगोठको बारे भन्यौ’ स्थानीय राजु मियाँले भनिन् ‘सबै कुरा धर्मगुरुले सम्झाई बुझाई गरेपछि हामीले छाउगोठमा बस्न छोड्का हौं ।’

“हिन्दु धर्मको प्रभावले यहाँका मुस्लिम समुदायले मन्दिरमा गएर बलि समेत चढाउने गर्थे । ‘दुःख संकट आइपर्दा अल्लाहलाई मात्रै होइन हिन्दु धर्मका भगवानलाई ‘हे भगवान मेरो परिवारको राम्रो होस् । सबै ठीक भए म राँगा बोका दिउँला’ भन्दै भाकल पनि गर्थे । पहिले भाकल गरेकाहरू त अहिले पनि बलि दिन्छन् । अहिले बाहिर जाने क्रम बढ्यो । धर्मको बारेमा बुझ्न थाल्यौं । अहिले त मन्दिरमा बलि दिन छोड्यौं’ शिक्षक शुम्भु मियाँले भने ,‘मुस्लिम भनेर चिनिन्थ्यौं । तर यसको बारेमा थाहा थिएन अहिले बुझ्दैछौं ।’

“इस्लाम धर्मका गुरु सुरत मियाँका अनुसार मुस्लिम र हिन्दुको नाम फरक हुन्छन् । तर यहाँ भने फरक छैन । ‘पहिले जन्मेका पुरुषको नाम शम्भु, सुरत, केशर र महिलाको माया, धौली, ममता जस्ता नाम राखियो । यो हिन्दु धर्मको प्रभाव हो’ धर्मगुरु मियाँले भने, ‘अहिले मुस्लिमको बारे जान्दै छौं । अहिले जन्मेका छोराहरूको नाम सोहिल, अब्जल, नसिब र इसाद जस्ता छन् भने छोरीहरूका नाम रुप्सार, अप्सा, सजिना, सहेनाज जस्ता नाम राखिएका छन् । यी मुस्लिमहरूले राख्ने नाम हुन् ।’ उनका अनुसार अन्य भूगोलमा बस्ने मुस्लिमले जस्तै यहाँ घुम्टो ओढ्ने चलन पनि छैन । भूगोल, ठाउँ परिवेशले पनि प्रत्येक जातजाति, धर्म संस्कारलाई प्रभाव पार्ने सुरत मियाँले बताए ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host