अवैध रुपमा विदेश पठाएको आरोपमा पक्राउ
काठमाडौँ, २१ फागुन (रासस) : अवैध तरीकाले वैदेशिक रोजगारीमा पठाएको अभियोगमा ‘क्याची एजुेकशन एण्ड टे«निङ कन्सल्टेन्सी’का सञ्चालक पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार खड्कालाई रु सात लाखदेखि १२ लाखसम्म लिई वैदेशिक रोजगारीका लागि भन्दै अजरबैजान, पोल्याण्ड, दक्षिण अफ्रिका, इस्टोनेसिया, माल्टालगायत देशमा नेपाली युवालाई पठाई अलपत्र पारेको आरोप लागेको छ ।
खड्काले शैक्षिक परामर्शका लागि खोलिएको संस्थाबाट विनाइजाजत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाएको, अवैध कागजात तयार पारेको आरोप लागेको छ । प्रहरीले अभियुक्त खड्कालाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।
प्रहरीले खड्काका साथबाट नेपाली राहदानी २५ थान, नोटरी पब्लिकलगायत विभिन्न सरकारी कार्यालयको छाप १८ थान, बैंकका भौचर र चेक बरामद गरेको छ ।