एक विश्व सम्पदादेखि अर्को विश्व सम्पदासम्म पैदल यात्रा

काठमाडौँ, २३ चैत (रासस) : विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूनाथसम्म पैदल यात्रा गरी स्थानीय सम्पदाको प्रवद्र्धन गरिने भएको छ ।
आगामी वैशाख ५ गते विश्व सम्पदा दिवसका दिन गरिने उक्त यात्रामा स्वदेशी तथा विदेशीलाई त्यस क्षेत्रका ऐतिहासिक पक्षका बारे जानकारी गराइने छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा पर्ने दुवै विश्व सम्पदास्थलबारे प्रचारप्रसार गर्नका लागि सोही क्षेत्रका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन भइसकेको छ । उक्त समितिले आगामी वैशाख २ देखि ८ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सरसफाइ, फोटो प्रदर्शनी, खेलकूद, सम्पदा पैदल यात्रा, सम्पदासम्बन्धी हुलाक टिकट प्रदर्शनी, कलासम्बन्धी कार्यशाला, सांस्कृतिक कार्यक्रमसमेत गरिने जनाइएको छ ।
सांसद श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत एक स्थलबाट अर्को विश्व सम्पदास्थलसम्मको पैदल यात्रा विश्वमै नौलो प्रयोग हुने बताउँदै यसले त्यस क्षेत्रका स्थानीय महत्वका अन्य सम्पदाबारे पनि प्रचार गर्न सहयोग पुग्ने बताउनुभयो ।
नेपालको मौलिक कलाशैलीको विशेषताले अन्तर्राष्ट्रिय तहमा मुलुकको अलग्गै पहिचान र विशिष्टता कायम गरेको जनाउँदै उहाँले यसको विकास र संरक्षणको खाँचो रहेको बताउनुभयो । विश्व सम्पदादेखि विश्व सम्पदासम्मको दूरी करीब दुई किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host