विद्यालयका लागि कम्प्युटर प्रदान
काठमाडौँ, २३ चैत (रासस) : नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली प्रदेशका विभिन्न १० वटा विद्यालयका लागि एक एक थान कम्प्युटर उपलब्ध गराएको छ ।
कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्राधिकरणले सोे कम्प्युटर उपलब्ध गराएको हो ।
कर्णाली प्रदेशका सबै विद्यालयमा कम्प्युटर तथा दुई वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने योजना प्राधिकरणको रहेको जनाएको छ ।
सो अवसरमा नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले प्राकृतिक स्रोत साधन र सम्पदाको दिगो प्रयोग गर्न सके कर्णाली प्रदेश समृद्ध हुने बताउँदै संघीयताको संस्थागत विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
केन्द्रका अध्यक्ष टेकराज शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काँग्रेसका नेता ऋषिकेश जंग शाह र प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले कर्णाली प्रदेशको विकासका लागि सूचना प्रविधि र शिक्षाक्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेता महतले एनआइसी एशिया बैंकबाट प्राप्त रु दुई लाखबाट रु १५ हजारका दरले आठ जना निर्धन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।