‘उत्कृष्ट’ घोषित भएका प्रहरी एक कार्टुन तेलमा लोभिएपछि….!

“काठमाडौँ:-प्रदेश १ प्रहरी कार्यालयबाट उत्कृष्ट घोषित् भएका एक जनासहित दुई ट्राफिक विभागीय कारबाहीमा परेका छन्।

“विराटनगर महानगरपालिका ३ पुष्पलालचोकमा कार्यरत असई तुलामणि आचार्य र हवल्दार झुरण चौधरी एक कार्टुन तेलको प्रलोभनमा परेपछि कारबाहीमा परेका हुन्।

“तीमध्ये असई आचार्य २०७६ साल असार महिनामा उत्कृष्ट प्रहरी घोषित् भएका थिए।अस्थायी ट्राफिक प्रहरी पोस्ट नेमुवामा रहँदा प्रभावकारी ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै तत्कालीन प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका थिए।

“केही दिनअगाडि उनीहरूले एउटा सवारीसाधनलाई रोकेर चालकलाई गाडीको कागजपत्र मागेका थिए। अरू कागजात भए पनि बिलबुक नभएपछि उनीहरूले जरिवाना तिर्नुपर्ने बताएका थिए।

“तर सवारी चालकले गाडीमा रहेको एक कार्टुन तेल दिने प्रलोभनमा पारेपछि उनीहरूले सहमति जनाए।सहमतिअनुसार गाडीबाट तेल झिक्दै गर्दा चालकले उनीहरूको भिडियो खिचेर प्रदेश १ प्रहरी कार्यालय प्रमुखसमक्ष पठाइदिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ।

“प्रदेश १ प्रहरी प्रमुख सुदीप गिरीलाई चालकले भिडियो पठाइदिएपछि डिआइजीले उनीहरूलाई कारबाही गरेका हुन्।दुबै जनालाई निलम्बनको तयारी भइरहेको बुझिएको छ। यता, मोरङ ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्कीले भने अनुशासनविपरीत कार्य गरेका कारण उनीहरू कारबाहीमा परेको बताए।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host