छोडुवा चौपायाले नगरवासीलाई सास्ती
राजु पौडेल, संबाददाता, सदरमुकाम कुश्माबजारमा छोडुवा चौपायले नगरवासीलाई सास्ती भएको छ । सडकमा जथाभावी चौपाय हिँड्ने, बस्ने गर्नाले सडक फोहोर मात्र होइन यातायात आवागनमा समस्या उत्पन्न भएको हो ।
उन्नत जातका गाईहरूले दूध दिने बेलासम्म गोठमा राख्ने र दूध दिन छाड्ने तथा बूढा हुँदै गएपछि यत्तिकै छाडिने प्रवृत्तिका कारण छोडुवा चौपाय बढेका हुन् । यति मात्र नभएर उन्नत जातका गाईले बाच्छी पाएमा पाल्ने र बहर पाएमा छाडिदिने समेत गरिन्छ । जसका कारण चौपायहरू सडकमा बढ्न थालेका हुन् । यस विषयमा नगरपालिकाले समेत कुनै योजना ल्याएको छैन ।
कृषकहरूलाई सहुलित ढुवानी अनुदानमा भित्र्याइएका गाईहरू समेत दूध दिन छाडेपछि छोडुवा बन्दै गएका छन् । उन्नत जातका गाई र गोरुहरू अनुत्पादक हुन थालेपछि छोडुवा बनेका हुन् । अहिले सदरमुकामका बजार क्षेत्र, सरकारी अड्डाहरूमा छोडुवा चौपाय तथा भुस्याहा कुकुरहरूको विगविगी हुन थालेको स्थानीय बताउँछन् ।
विभिन्न सरकारी अनुदान र गैरसरकारी कार्यक्रममार्फत् भित्रायाइएका उन्नत जातका गाई अहिले मुख्य समस्या बन्ने गरेका छन् । सरकारी निकायको कार्यक्रमअनुसार खरिद भएर सञ्चालित फर्महरूले गाई व्यवस्थापनमा चासो नदेखाउँदा थप बेवारीसे चौपायको संख्या बढेको हो । विषेशगरी दूध उत्पादनको महत्वले पालिएका गाई बजार क्षेत्रमा बेवारिसे बन्न थालेपछि नगरवासीलाई समस्या थपिएको छ। तरकारी पसलहरूमा बाहिर राखिएका तरकारीहरू सडकका चौपाया आएर खाइदिने गरेको दुखेसो तरकारी पसल संचालकहरूले गर्ने गरेका छन् । कुश्मा नगरपालिका वडा नं. ७, खरेहाकाका रमाकान्त शर्माले भने ‘आयात गरिएका उन्नत जातका गाई बेवारिसे बनेपछि अहिले सामाजिक समस्या मौलाएको छ ।’ शर्माले तरकारी मात्र नभई वन क्षेत्रमा समेत छाडा चौपाया प्रवेश गर्नाले वन मासिने डर भएको बताए ।
यस्तै, बजार क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढेको छ । अहिले बजार क्षेत्रमा रेविज लागेका कुकुर र बेवारिसे गाईका कारण सदरमुकाम कुरूप बन्दै गएको छ । बजार क्षेत्रमा वर्षेनी सडक हरियाली कार्यक्रममार्फत् वृक्षारोपण हुने गरेको भए पनि छोडुवा गाईवस्तुका कारण सफल हुन नसकेको समाजसेवी मानकुमारी गिरीले बताइन् । बडागाउँ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गिरीले वन क्षेत्रमा चौपाया छोड्ने समस्याका कारण नयाँ विरुवा हुर्काउन नपाएको जिकिर गरिन् ।
चार वर्षअघि कुश्मा नगरपालिका कार्यान्वयनमा आइसकेको भए पनि बजारको फोहोर व्यवस्थापन, पशु चौपाय व्यवस्थापनमा स्थानीय सरकार जिम्मेवार बन्न नसक्दा अहिले नगरवासीहरूमा गाई र कुकुर आतंक छ । करेसाबारीमा लगाएको तरकारी गाईले खाइदिने गरेको स्थानीयले बताए । सरकारी कार्यालय वरपरसमेत चरन क्षेत्रमा परिणत हुन थालेको छ ।