टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै

काठमाडौं, २३ चैत, त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको अस्पतालका प्रशासक मानबहादुर भट्टले बताएका छन् ।
कलेजो प्रत्यारोपण गर्न जतिसक्दो छिटो तयारीमा जुटिरहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो तथा प्यानक्रियाज सर्जन प्राध्यापक डा रमेशसिंह भण्डारीले बताए।
प्रत्यारोपणमा आवश्यक सामग्री तयारी अवस्थामा रहेको, चार शड्ढयाको आइसियू, चिकित्सक समूह, चिकित्सकलाई तालिमलगायतका काम पूरा भइसकेको डा भण्डारीले बताए।बिरामीको कलेजोले काम गर्न छाडेपछि दोस्रो व्यक्तिको आधा कलेजो झिकेर राख्ने विधि हो कलेजो प्रत्यारोपण। कलेजो प्रत्यारोपण दुई तरिकाबाट गर्न सकिन्छ।

मस्तिष्क मृत्यु भएका तर शरीरको मृत्यु नभएका व्यक्तिबाट कलेजोको आधा भाग निकालेर बिरामीलाई प्रत्यारोपण गर्न सकिन्छ। यस्तै जीवित व्यक्तिको आधा कलेजो शल्यक्रियाका माध्यमबाट निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ।
शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण गर्दा सम्पूर्ण उपचार खर्चसहित २५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । भारतमा प्रत्यारोपण गर्दा भने ४० लाख रुपैयाँ खर्च लाग्छ ।नेपालमा २०७३ सालमा कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको थियो। त्रिवि शिक्षण अस्पतालमा भने रमेश भण्डारीकै नेतृत्वमा प्रत्यारोपण हुन लागेको हो। यसका लागि डा भण्डारी विगत तीन वर्षदेखि क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host