जसले सुपरस्टार सलमान खानलाई जेलको हावा खुवाए . . . !

काठमाडौँ, २४ चैत, ‘मैले देख्दा कालो हरिण मरिसकेको थियो । शरीरभरी खुन लतपतिएको थियो । मैले करिब ५० कदम टाढाबाट यो दृश्य देखेँको हुँ ।’ भारमल विश्नोईको बयान हो यो ।
सन् १९९८ मा जोधपुर जिल्लाको कांकाणी गाउँमा बलिउड सुपरस्टार सलमान खानले कालो हरिणलाई गोली ठोकेर मारेका थिए । त्यो देख्ने प्रत्यक्षदर्शी हुन् भारमल विश्नोई र पुनम चन्द विश्नोई । विश्नोईलाई १९ वर्ष अघि देखेको त्यो घटना अहिले पनि ताजै छ । १९ वर्षदेखि त्यही घटना सोध्नेलाई सुनाए, सुन्नेलाई सुनाए । अदालतमा बयान दिने बेला आयो त्यहाँ पनि सोही कुरा सुनाए । जसले सुपरस्टारलाई जेलको हावा खुवायो ।
विश्नोई दम्पतीले जे–जे देखेका थिए त्यो अदालत सामू बताएका छन् । यही बयानले न्यायाधीशलाई फैसला गर्न सहज बनायो । त्यसैले सुपरस्टार सलमान खान ५ वर्षका लागि जेल जान बाध्य भए ।
७२ वर्षीय भारमल विश्नोई खेती किसानी तथा पशुपालन गर्ने व्यक्ति हुन् । उनले बीबीसीलाई भनेका छन्, ‘मैले गोली लागेको केहीबेरपछि नै हरिणलाई देखेको हुँ, खुन बगिरहेको थियो त्यसैले मैले अदालतमा बयान दिनु पर्यो ।’ उनले अदालतमा धेरै सोधपुछ भएको पनि बताएका छन् । आफ्नो सम्झनाको बारेमा पनि बारबार न्यायाधीशले सोधेको उनले बताए । त्यो बयानसँगै न्यायाधीशले आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोधपुछ गरेको बताए ।
भारतसहित विश्वका धेरै मानिस सलमान खान जेल गएको खबरले दुःखी बनेका छन् । तर विश्नोई यो फैसलाबाट अत्यन्तै खुसी छन् । उनी भन्छन्, ‘म त वन्यजन्तुको रक्षाका लागि ज्यान दिन पनि तयार छ् । वन्यजन्तुको हत्या कदापि सहन सक्दिन त्यसैले यो फैसलाबाट खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host