असारपछि कर्मचारीको संक्रमण सकिन्छ : मन्त्री पण्डित

पाल्पा — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तसम्म कर्मचारी मिलानको काम सकिने बताएका छन् । उनले अहिले केही गुनासा आएपनि असारपछि कोही कुनै तहले कर्मचारीका विषयमा गुनासो गर्न नपाउने बताए । पाल्पा जिल्लालाई ४८ औं खुल्ला दिसा मुक्त जिल्ला शनिबार घोषणा गर्दै मन्त्री पण्डितले राजनीतिक होइन अहिले कर्मचारीको संक्रमणकाल सुरु भएकाले यतिबेला विभिन्न व्यक्तिको चलखेल भइरहेको बताए । ‘विगतका असहज परिस्थिति पार गरेकाले कर्मचारीको अप्ठेरो केही होइन,’ उनले भने, ‘अब राजनीतिक संक्रमणकाल अन्त्य भएकाले अन्य छिर्के लगाउनेहरुको केही चल्दैन ।’

मन्त्री पण्डितले संघीय संरचनाका कामलाई चुस्त बनाउन कुनै पनि स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिने बताए । राष्ट्रसेवक कर्मचारीहरुको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरुलाई आग्रह गरे । ‘देश संघीय संरचनामा भएको हुँदा कर्मचारी अपुग जस्तो महसुस भएको छ,’ उनले भने, ‘केन्द्रीकृत प्रशासनिक संक्रमण समाप्त हुनेछ । चिन्ता नगर्नुस् ।’

मन्त्री पण्डितले अबका दिनमा जनताको काम नगरी दिन बिताउन खोज्ने कर्मचारीको समय पनि सकिएको बताए । राष्ट्रसेवक कर्मचारीलाई काम नगर्नेलाई दण्डित र काम गर्नेलाई पुरस्कार गर्ने नीति आफुले लिएको बताउँदै पहिला कर्म त्यसपछि फलको आस गर्न सुझाव दिए । ‘अब बढी दरबन्दी भए काट्ने र दरबन्दी नभएपनि थुप्रिएर बसेका कर्मचारीलाई कार्य स्थलमा पठाउनेछु,’ उनले भने ।

मन्त्री पण्डितले माध्यमिक तह पढेको पद्य पब्लिक नमुना माविमा सम्मान थाप्न पनि भ्याए । निजामतीहरुको आधिकारिक ट्रेड युनियनको सम्मान ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host