हनुमन्तेबाट ३० टन फोहोर संकलन

भक्तपुर, २४ चैत (रासस): भक्तपुरको हनुमन्ते नदी सफाई अभियानको आज छैटौँ हप्ता ३० टन फोहोर संकलन गरिएको छ ।
सूर्यविनायक नगरपालिकाको आयोजनामा भइरहेको हनुमन्ते सफाइ अभियानमा आज नायिका केकी अधिकारीको नेतृत्वमा सफाइ अभियान सञ्चालन भयो । अभियानका क्रममा नायिका अधिकारीले वातावरण संरक्षण गर्न आम भक्तपुरवासीको मात्र नभई सम्पूर्ण नेपालीको भूमिका उल्लेख्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सफाइ अभियान सञ्चालन गर्दा खोलामा फोहोर फाल्नेलाई नैतिक संकट परेको बताउँदै खोलामा सिधै उद्योग र कलकारखानाका केमिकल सहितको फोहोर फाल्ने कामलाई रोक्नुपर्ने बताउनुभयो ।

अभियानका संयोजक तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सरसफाइ, शिक्षा, स्वास्थ्य तथा यातायात जस्ता कुरा अहिले सूर्यविनायक नगरपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
राससकर्मी सम्मानित

यसैबीच, राष्ट्रिय समाचार समितिका भक्तपुर संवाददाता रमेश गिरीलाई आज सम्मान गरिएको छ ।
मदरल्याण्ड बोर्डिङ इङलिस स्कूल, भक्तपुरले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा क्रियाशील रहेर शिक्षा क्षेत्र र समाजमा योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

विद्यालयका प्रिन्सिपल सञ्जय खड्काले उहाँलाई ताम्रपत्र प्रदान गर्र्दै सम्मान गर्नुभएको हो । कार्यक्रममा टेबल टेनिस खेलाडी शिव सुन्दर गोथे, शिक्षाविद् मीनाक्षीलक्ष्मी प्रजापति, साहित्यकार जीवनाथ अधिकारी र युवा गायक मानस राज (महेश्वर बोहरा) लाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host