नदीमा मानवीय चाप घटाउन माछापालन

रत्ननगर, चितवन, २५ फागुन (रासस): राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम शुरु भएको छ ।

‘जिओलोजिकल सोसाइटी अफ लण्डन’को आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम शुरु भएको हो ।

राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन कार्यक्रम शुरु गरिएको हिमालयन नेचरका परियोजना प्रमुख प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

चितवनको जगतपुरस्थित केरुङग मध्यवर्ती क्षेत्रको दुईवटा ठाउँ तथा नवलपुरको पिठ््र्याैली र देवचुलीको तीनवटा ठाउँमा माछापोखरी निर्माण गरी स्थानीयवासी विपन्न समुदायलाई सहभागी गराउन थालिएको हो । यस क्षेत्रमा बोटे, माझी र मुसहर समुदायलाई केन्द्रित गरेर माछापालन कार्यक्रम शुरु गरिएको हो ।

चारवर्षे कार्यक्रमअन्तर्गत पहिलोचरणमा पाँच पोखरीका लागि सहयोग गरिएको र पछि अन्य क्षेत्रमा पनि पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञचालन गरिनेछ । विशेष गरी नदी छेउमा बस्ने स्थानीयवासी माछा मार्न नदीमा जान्छन् । सो क्रममा जाल अड्किएर गोही मर्ने र नदीमा माछासमेत घट्ने हुँदा वन्यजन्तु, चरा र जलचरलाई असर गर्ने भएकाले उक्त कार्यक्रम शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host