भागबण्डाले संकटमा दर्जन नेता, रामचन्द्रदेखि विश्वप्रकाशसम्म टिकट नपाउने लाइनमा, ओलीका अघि हाँसो

काठमाडौँ अबको झण्डै एक सय दिनपछि देश मुल नेतृत्व परिवर्तनका लागि निर्वाचनमा जाँदैछ।यसका लागि अहिलेदेखि नै चुनावी रस्साकस्सी सुरु भएको छ। दलहरु
शक्ति बढाउने भागदौडमा केन्द्रीत बनेका छन्।एउटाको नेतृत्व एमालेले गरेको छ भने, अर्काे सत्ता गठबन्धनले गरेको छ । तर भागबण्डाको विषय गठबन्धनका लागि निकै सकसपूर्ण बनेको

छ ।बिहिबार च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै कमाण्डमा एक्लै चुनावमा जाने तयारी गरिरहेका बेला बालुवाटारको प्रधानमन्त्री कोठीमा त्यही समयमा पाँच दलले भागबण्डाको रस्साकस्सी चलाइरहेका थिए । भाग राजनीतिको अभ्यासमा रहेका दलहरुबीच प्रमुख चार विषयलाई आधार बनाएर चुनावी भागबण्डाको गाँठो फुकाउन जोरजुलम गरिएको थियो ।मुख्यतः २०७४ को प्रतिनिधिसभामा जितेको सिट संख्या, समानुपातिकतर्फ पाएको मत र स्थानीय तहको मतपरिणामसँगै शीर्षसहितका प्रभावशाली नेताहरुको जितलाई सुनिश्चित गर्ने गरि आधार बनाउन खोजिएको थियो ।२०७४ मा काँग्रेसले प्रत्यक्षतर्फ २३ सिटसहित ६३ पु¥याएको थियो । नेकपा माओवादी केन्द्रले एमालेसँगको तालमेलमा ३६ प्रत्यक्षसहित ५४ सिट बनाएको थियो ।एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीसँग अहिले प्रत्यक्ष १२ सिट कायम रहेको छ ।जसपाको ८ र जनमोर्चाको एक सिट छ ।

गठबन्धनको कार्यदलले भागबण्डाको मुख्य आधार यसैलाई मान्दा विगतमा जितेका निर्वाचन क्षेत्रमै ततः दलको हक रहनेछ । एमालेले जितेका १२१ सिटमा भने दलहरुले भागबण्डा गर्नेछन् ।तर यसो गर्दा प्रभावशाली मानिएका तर विगतमा चुनाव हारेका नेताहरुको व्यवस्थापनमा गठबन्धनलाई निकै ठूलो संकट आउनेछ ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको क्षेत्र नम्बर एकबाट नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किशान)ले पराजित गरेका थिए । अब त्यो क्षेत्रमा गठबन्धनले भागबण्डा मिलाउँदा पौडेलले छोड्ने कि श्रेष्ठले छोड्ने निकै ठूलो चुनौती छ । झापा १ बाट वामगठबन्धनका उम्मेदवार राम कार्कीले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई हराएका थिए ।

माओवादी केन्द्रले विगतमा निर्वाचित क्षेत्र दाबी गर्दा शर्माले छाड्ने वा अर्काे क्षेत्रबाट चुनाव लड्ने अवस्था आउन सक्छ । तर शर्मा आफ्नै क्षेत्रमा चुनावी तयारी चलाइरहेका छन् ।उसो त झापामै कृष्णप्रसाद सिटौलाकोभविष्य पनि जोखिममा छ ।काँग्रेस प्रवक्ता प्रकाशशरण महत यसपाली नुवाकोट एकबाट चुनाव लड्ने तयारीमा छन् ।गत निर्वाचनमा दाजु रामशरण महतले माओवादी केन्द्रका नेता हितबहादुर तामाङले हार ब्यहोरेका थिए । काठमाडौं पाँच छोडेर गृहजिल्लामै हानिएका महतले माओवादीसँग भागबण्डा मिलाउन सकसपूर्ण छ । सबैभन्दा ठूलो भिडन्त सिन्धुपाल्चोक एकमा हुने देखिएको छ । सभामुखको जिम्मेवारीमा रहेका अग्नि सापकोटा माओवादीबाट निर्वाचित हुँदा काँग्रेसका मोहनबहादुर बस्नेत पराजित भएका थिए । अहिले आफुले टिकट नपाएर पुनः सापकोटाले पाए विद्रोह गर्ने चेतावनी बस्नेतले दिएका छन् ।

डोटीमा काँग्रेसका वीरबहादुर बलाएर र एकीकृत समाजवादीका प्रेम आलेबीच टकराव छ । ललितपुर ३ मा माओवादीकी पम्फा भुसाल र काँग्रेसका मदन आमात्यको संघर्ष छ । जाजरकोटमा माओवादीबाट निर्वाचित शक्ति बस्नेतले काँग्रेसका राजिवविक्रम शाहीलाई छोड्ने अवस्था छैन । गत निर्वाचनमा काँग्रेस नेता विमलेन्द्र निधी लोसपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । लोसपा गठबन्धनमा सामेल भए निधिले टिकट पाउनै मूस्किल छ । तथापी सत्ताको नेतृत्व र सांगठिक हिसावले बलियो भएका कारण अन्य दल काँग्रेससँग दबाबमा रहनेछन् ।

पहिले जितेका स्थानमा जितेकै दललाई दिने र हरेका नेताहरुलाई समेत सम्बोधन गर्न सके भागबण्डा सहजै मिल्न सक्छ ।किनकि काँग्रेस र माओवादीबीच विगतदेखि नै समन्वयकारी भूमिका खेल्दै आएका र सफल पनि भएका नेता कृष्णप्रसाद सिटौला कार्यदलको संयोजक बनेका छन् ।माओवादीसँगका हरेक सम्झौता र सहकार्यको तालमेल गर्दा काँग्रेसमा सिटौलाको नाम पहिलो बनेर आउँछ । त्यसबाहेक असोज २ र ३ गतेसम्म समानुपातिक तर्फको बन्दसूची पेश गर्नै पर्ने कार्यतालिका निर्वाचन आयोगले निर्धारण गरेकाले त्यो भन्दा अघि नै भागबण्डा मिलाउनुपर्ने दबाबमा दलहरु परेका छन् ।

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host