बालेन शाह चुनिने छन् काठमाडौंका मेयर, मेयर उम्मेदवार तीन जनाको बाहेक सबैको जमानत जफत हुने


काठमाडौं :

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) ले साइत हेराएर मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।

अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् । काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन् । उनले भने बिहान ११ बजेको समयमा मतदान गरेका हुन् । मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए ।

उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए । उनले सुरूमा बिहानै बसन्तपुर मतदान केन्द्रको अवलोकन गरेका थिए । त्यसपछि उनी महानगरभित्रका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका थिए । विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनी मतदान गर्न पुगेका हुन् ।

उनले ११ बजेको साइत जुराएर मतदान गरेका हुन् । उनले ११ः०३ बजे मतदान गरेका थिए । ‘सुरुमा हाम्रो स्थिति कस्तो छ भनेर हेर्न खोजेका थिए । हाम्रो स्थित एकदमै राम्रो छ । त्यसपछि म भोट हाल्न आए,’ शाहले भने ।

विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनले आफ्नो जीत सुनिश्चित भएको उनको भनाइ छ । काठमाडौंमा कुनै प्रकारको चुनौती नरहेको भन्दै अहिलेसम्म काम गर्ने मान्छे नभएको बताए । ‘काठमाडौंमा केही पनि चुनौती छैन । काम गर्ने मान्छे नभएर अहिलेसम्म समस्या भएको हो । हामी जितेर आएपछि काम गर्छौ,’ शाहले भने ।

स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्ना ५४ प्रतिस्पर्धीलाई हराएर काठमाडौं महानगरको मेयर निर्वाचित हुने देखिएको छ। ठूला र स्थापित दललाई हराएर स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको मेयर निर्वाचित भएको यो पहिलो पटक हुनेछ।

निर्वाचनका दिन आफ्नो मत खसालेर आएका १३५० मतदातासँग उनीहरूले मत खसालेका मतदान केन्द्रबाहिर कुरा गरेको छ। हाम्रो टिमले मतदातासँग कुरा गर्दा सकेसम्म महिला-पुरुष र उनीहरूको उमेर समूहको सन्तुलन मिलाउने प्रयत्न गरेको छ।

आफ्नो मत खसालेर आएका मतदातासँग हामीले आज गरेको कुराकानीबाट सेतोपाटी टिमले पछिल्लो साताभरि काठमाडौंका मतदातासँग गरेको कुराकानीको थप पुष्टि भएको छ।

हामीले आज कुरा गरेका १३५० मतदातामध्ये ५७० जना अर्थात ४२ प्रतिशतले बालेन शाहलाई मत दिएको बताए। दोस्रोमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ३५० अर्थात २६ प्रतिशतले मत दिएको बताए। तेस्रोमा एमालेका उम्मेदवार केशव स्थापितलाई ३३५ अर्थात २५ प्रतिशतले मत दिएको बताए।

हाम्रो विश्लेषणमा यी तीन जना उम्मेदवारबाहेक कसैले पनि जमानत जोगाउन सक्ने छैनन्। हामीले कुरा गरेका १३५० मतदातामध्ये ५९ जना अर्थात ४ प्रतिशतले अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई मत दिने बताए। उनले चौथो धेरै मत पाउने छन्। २९ जनाले राप्रपाका मदनदास श्रेष्ठ र ७ जनाले विवेकशील साझाकी समीक्षा बास्कोटालाई मत दिने बताए।

कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com