जसले कारमा गीत घन्काएर च्याउ बेच्छन्
रत्ननगर एउटा भनाइ छ: ‘विष नभएको सर्प र ईख नभएको मान्छेको काम छैन ।’ यही उक्तिलाई आत्मसात् गर्दै रत्ननगर–१३, जयमंगलाका २६ वर्षीय मदनकुमार भट्टराई उद्यमशील बने ।
तीन वर्ष रत्ननगरको सत्यसाई बिजुली पसल र अर्याल हार्डवेयरमा काम गरेका उनी विगत सम्झँदै भन्छन्, ‘हार्डवेयर पसलमा काम गर्दा छोरा बिरामी पर्दा पनि दुई हजार नपत्याएपछि आफैँले केही गर्नुपर्दोरहेछ भन्ने ईख पलायो । अनि तरकारी व्यापार र च्याउ खेतीमा लागेँ ।’
उनले बुबासँग १७ हजार रुपैयाँ सापटी लिएर ठेला किने । नारायणगढ र चौबिसकोठी वरपर फलफूल र तरकारी बेचे । पैसा त यसमा पो रहेछ भन्ने चेत खुलेपछि उनले ठेला बेचेर बुबाको सापटी फिर्ता गरे । अनि साइकलको दायाँबायाँ डोको राखेर गाउँले किसानले उत्पादन गरेका ताजा तरकारी डुलाएर बेचे ।
उनी भन्छन्, ‘काम गरेर खान लाज मान्नुहुँदैन । जयमंगलादेखि टाँडी, पर्सा हुँदै खुरखुरेसम्म साइकल पेलेरै तरकारी बेचेको छु । साइकलमै तरकारी लिएर नारायणगढसम्म पुग्थेँ, नगर प्रहरीले साह्रै दुःख दिन्थ्यो । दुईचार सय दिएर सामान फिर्ता लिनुपथ्र्यो ।’
उनले दुई लाख रुपैयाँ लगानी गरेर पाल्पा पुगेर डल्ले च्याउ खेती सुरू गरे । साथीसँग मिलेर च्याउ खेती गर्दा उनले दैनिक १२० किलोसम्म उत्पादन गरे । त्यसपछि आफ्नै घरमा अर्गानिक च्याउ उत्पादन गरे । उनले जाडो मौसममा घरमै च्याउ खेती गर्छन् । भन्छन्, ‘घरमा उत्पादन गरेको च्याउ ६ महिना बिक्री गर्छु । बाँकी समय धादिङ, पाल्पा, काठमाडौँ र हेटौँडाका किसानले उत्पादन गरेको च्याउ बेच्छु । यसैबाट राम्रो आम्दानी भइरहेको छ ।’
रमाइलो प्रसङ्ग त के छ भने, डेढ वर्षअघिसम्म साइकलको घण्टी बजाएर च्याउ बेच्ने मदन यतिखेर कारमा गीत घन्काएर च्याउ बेच्दै हिँड्छन् । कारको छतमा जोडिएको स्पिकरमा बज्छ, ‘च्याउ आयो, अर्गानिक च्याउ आयो । सुगर, प्रेसर भएकालाई अत्यन्त लाभदायी । यस्तै यस्तै ।’ उनी बजारका चोक र गल्लीहरुमा आफ्नै विज्ञापन बजाउँछन् । ग्राहकहरु च्याउ किन्न झुम्मिन्छन् ।
कारमै हुँइकिए पनि उनको जीवनशैली उस्तै छ । दैनिकी पनि उस्तै छ । उनी भन्छन्, ‘दैनिक २२ देखि २५ हजार रुपैयाँको च्याउ बिक्री गर्छु । यसैको आम्दानीले कारको किस्ता तिर्छु । परिवार पाल्छु, छोरा पढाउँछु । मासिक ४० देखि ५० हजार रुपैयाँ कमाउँछु । पहिले कोठा भाडामा बस्नु पथ्र्यो । अहिले आफ्नै सानो घर बनाएको छु । श्रीमती र छोरासँग हाँसिखुसी जीवन बिताइरहेको छु ।’
च्याउ बेच्न पनि कार नै चाहिन्छ र ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘साइकलमा भन्दा व्यापार बढ्छ, टाढा पुगेर व्यापार गर्न सकिन्छ भनेर ऋणधन गरेर कार किनेको हुँ । लोथर, सौराहा र नारायणगढसम्म पुग्छु । च्याउ नसकिएसम्म खाना खान्न । आजीवन च्याउ नै फलाउँछु र बेच्छु । बाँचुञ्जेल अर्काको काम गर्दिन ।’
उनी अपाङ्ग छन् । तर, आफू अपाङ्ग भएको अनुभूति उनलाई कत्ति छैन । ०६० सालमा पाँच कक्षा पढ्दै गर्दा टाउकामा पानी जमेर उनी सिकिस्त बिरामी परे । डा उपेन्द्र देवकोटाले दुईपटक अप्रेसन गरेर उनलाई बचाए । भन्छन्, ‘मैले पुनर्जन्म पाएँ । तर, त्यसबेला पनि ६० लाख रुपैयाँ खर्च भयो । अहिले टाउकादेखि पिसाबथैलीसम्म पाइप जडान गरिएको छ । तर, मलाई म कमजोर छु भन्ने कत्ति पनि महसुस भएको छैन ।’
‘डाक्टरले अरुको बाइक पछाडिसमेत नबस्नु भने पनि मैले साइकल पेलेरै दुःख गरेँ’, उनी भन्छन्, ‘अझै पनि च्याउ थोरै भएका बेला साइकलमा डोको राखेर डुलाउने गर्छु । मलाई यसैमा आत्मसन्तुष्टि छ । मासिक ५० हजार पाए पनि अरुको काम गर्दिन ।’
उनी भन्छन्, ‘विदेश जानुभन्दा नेपालमा जे काम गरे पनि पैसा कमाउन सकिन्छ । तर, यहाँ आफू केही नगर्ने र अरुले काम गरेर खाएकोमा ईश्र्या गर्छन् । युवालाई प्रोत्साहन गर्नुभन्दा हतोत्साही गर्ने बढी छन् । त्यसैले देशमा बेरोजगारी बढेको हो ।’
‘दुःख गरेर खाने मलाई ‘पर्सा आइस् भने खुट्टा भाँच्छु’ भनेर धम्कीसमेत आयो’, उनी थप्छन्, ‘एउटा अपाङ्गले स्वदेशमै दुःख गरेर खाएको पनि देखिनसहने समाज छ यहाँ । यस्ता कुराले भने दुःख लाग्छ ।’कार चढेको घमण्ड उनलाई कत्ति छैन । बरु उनले कार किनेदेखि गाउँमा एम्बुलेन्सको काम गर्दै आएका छन् । भन्छन्, ‘नितान्त च्याउ व्यापारका लागि यो कार किनेको हुँ । साँझ–बिहान कोही बिरामी परे भने अस्पताल लगिदिन्छु । गाउँघरमा काम विशेषले फोन गरे भने पुग्छु । तर, भाडामा भने लगाउँदिन ।’ उनको कारमा अक्सर बज्ने गीत हो– ‘मलाई अमेरिका यहीँ, जापान पनि यहीँ ।’ भन्छन्, ‘म स्वदेशमै आत्मसम्मानले बाँच्छु । मलाई विदेश जाने रहर छैन, जीवनभर विदेश जान्न ।’