गेट वेल सुन’ कार्ड सार्वजनिक

भक्तपुर, १ चैत (रासस): उपभोक्ता दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र, चाँगुनारायण भक्तपुरले उपभोक्ताको हितका आज ‘गेट वेल सुन’ (छिटो स्वस्थ होऊ) कार्डको नमूना सार्वजनिक गरेको छ ।
नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्ड सार्वजनिक गर्दै सो सेवाले विपन्न वर्गलाई आर्थिक सहयोग पुग्नाका साथै अस्पतालको वातावरण सरसफाइमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले कार्ड सेवा देशैभरीका अस्पतालमा विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।
अस्पतालमा भर्ना भएका बिरामी हेर्न जाने आगन्तुकले फलफूल, पुष्पगुच्छा रजुस लिएर जानुको सट्टा कार्ड प्रदान गरी बिरामीलाई आर्थिक सहयोग गर्नाका साथै अस्पतालको सरसफाइमा समेत सहयोग पु¥याउने उद्देश्यले कार्ड पद्धति शुुरु गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले बताउनुभयो । “बिरामीलाई प्रदान गरिएको कार्ड डिस्चार्जको समयमा अस्पतालको अन्तिम बिलबाट कट्टा गर्ने वा बिरामीलाई आवश्यक पर्दा अस्पतालको नगद काउन्टरमा पेश गरेवापत कार्ड बराबरको रकम अस्पतालले बिरामीलाई उपलब्ध गराउँछ”, फुयाँलले भन्नुभयो ।
कार्ड यही चैत २४ गतेदेखि भक्तपुर अस्पताल, शहीद धर्मभक्त माथेमा मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र निजामती अस्पतालमा विस्तार गरिने छ । रु २५० देखि ५०० र एक हजारको कार्ड केन्द्रले अस्पताललाई निःशुल्करुपमा दिन्छ । बिरामी हेर्न जानेले सो कार्ड अस्पतालको काउन्टरबाट खरिद गर्नुपर्ने हुन्छ । कार्यक्रममा भक्तपुर अस्पताल, मानवअंग प्रत्यारोपण केन्द्र र गैरसरकारी महासंघ भक्तपुरका प्रतिनिधिले अस्पतालको प्राङ्गणमा बेचिएका फलफूल स्वस्थ नभएको जिकिर गरेका थिए ।
जापानी प्रविधिद्वारा प्राङ्गारिक मल
मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापनका लागि जापानी प्रविधिबाट प्राङ्गारिक मल बनाउने प्रविधि सञ्चालनमा ल्याउने तयारी गरेको छ । फोहोर व्यवस्थापनका लागि नगरवासीका घरघरमा जैविक मल बनाएर फोहोर व्यवस्थापन गरिने छ ।
त्यसका लागि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा एक टोली जापानमा अवलोकन भ्रमणमा गएको थियो । नगरपालिकाले वडा नं ४ बालकुमारीबाट सो प्रविधि सञ्चालनमा ल्याउने छ । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “सामान्य जनताले घरमै अपनाउन सकिने जापानी प्रविधिबाट कम्पोष्ट मल तयार गर्ने योजना ल्याएका छौंँ । सबभन्दा पहिला नगरको ४ नं वडाबाट शुरुआत गरिने छ ।” यस प्रविधिले फोहर व्यवस्थापनमा ८० प्रतिशत कमी हुने जिकिर गर्दै उहाँले जापानी स्वयंसेवकहरुको सहयोगमा छिट्टै सो प्रविधि कार्यान्वयनमा जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host