पाटनमा नयाँ कुमारीको प्रतिस्थापन

ललितपुर, ५ फागुन (रासस) ः पाटनमा नयाँ कुमारी निहिरा बज्राचार्यलाई प्रतिस्थापन पूजा गरिएको छ ।

प्रतिस्थापन पूजा गरेपछिमात्रै नयाँ कुमारीलाई देवी मानिने तलेजु मन्दिरका पुजारी रखन राजोपाध्यायले बताउनुभयो ।

पाँच वर्षीया कुमारी बज्राचार्य आजैदेखि कुमारी घरमा बस्न थाल्नुभएको छ । आसनमा रहेकी कुमारीको पहिलो महिनावारीपछि अर्की कुमारीको खोजी हुने गरेको छ । उहाँ भन्नुहुन्छ, “महिनावारी भएपछि बालिका आसनमा बस्न नहुने मान्यता छ ।”

पाटनमा बज्राचार्य परिवारबाट कुमारी छान्ने गरिन्छ । उहाँ भन्नुहुन्छ, “कुमारी बन्ने बालिका स्वस्थ र राम्री हुनुपर्छ ।” काठमाडौँ उपत्यकाका तीनै जिल्लामा फरक–फरक कुमारी छन् ।

पाटनमा तलेजु मन्दिरका मूल पुजारीले कुमारी छान्ने गरेका छन् । पहिले बज्राचार्य परिवारबाट सुन्दर र स्वस्थ बालिका जो इच्छुक छन् तिनको खोजी हुन्छ । पहिले मूल पुजारीले केही बालिका छानेपछि उनकी श्रीमतीले बालिकाको घाउ चोट भए नभएको हेर्ने चलन छ । उहाँ भन्नुहुन्छ, “कुमारी बन्ने बालिका तेजस्वीसमेत हुनुपर्छ ।”

कुमारी धार्मिक र सांस्कतिक रुपमा महत्वपूर्ण मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host