दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शुरु

पोखरा, ५ फागुन (रासस) ः ‘दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व’ भन्ने नाराका साथ आजदेखि पर्यटकीय नगरी पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा आयोजित पाँच दिवसीय सम्मेलनमा नेपाललगायत विभिन्न २० राष्ट्रका १८० युवाको सहभागिता रहेको छ ।

युवा नेतृत्व विकास, उद्यमशीलता, दिगो विकास लक्ष्य, सुरक्षित आप्रवासन, गुणस्तरीय शिक्षा, विश्व युवा साझेदारीलगायत विषयमा छलफल गरी योजना तयार गर्ने सम्मेलनको मुख्य लक्ष्य रहेको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनका अध्यक्ष सुवास मल्लले जनाकारी दिनुभयो ।

सो सम्मेलनको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले आज एक समारोहका बीच उद्घाटन गर्दै विश्वमा  नै सक्षम जनशक्ति निर्माण गर्नु वर्तमानको अवश्यकता रहेको बताउनुभयो । शान्ति कायम गर्न विश्वका युवाको साझेदारीको हुनुपर्ने बताउँदै उहाँले विश्वसामु नयाँ समस्याका रुपमा देखा परेको जलवायु परिवर्तनका बारेमा सम्मेलनले ठोस निर्णय लिन आवश्यक रहेको बताउनुभयो । नयाँ प्रविधिमा विश्वले नै फड्को मारिसकेको आजको अवस्थामा नेपाली युवालाई पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको गुणस्तरीय शिक्षाको आवश्यकतामा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवर्तन युवा शक्तिबाटै हुने गरेको बताउँदै विश्वका युवाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा भारत कर्नाटक राज्यका शिक्षाविद् प्राध्यापक केके सिंह, अन्तर्राष्ट्रिय शान्ति फेडेसनका बंगलादेशका अध्यक्ष रफिअल अलाम, ओमनका डा सरिफा अलयही, न्यूजील्याण्डका सामाजिक विकास पूर्वमन्त्री अहमत वारी, पहिलो युवा सम्मेलनका अध्यक्ष बंगलादेशका जनातुरन्न इसिता र पियारत्न महर्जनलगायतले वर्तमान अवस्था र युवा वर्गले खेल्नुपर्ने भूमिकाबारे बोल्नु भएको थियो ।

सम्मेलनमा ओमनका पूर्वमन्त्री डा अल याहाई, अमेरिकाका शिक्षाविद् ट्रसी हेन्सन, अमेरिकाका जरुसिया हिल्टन, मलेसियाका युवा व्यवसायी जसल्कारनाइन ताइवे, बहराइनका डा लुल्वा मुतलाक, पाकिस्तानका सूचना प्रविधि विज्ञ अम्मर जाफरी, इण्डोनेशियाका ट्रोएभन सारागिल, मेक्सिकोका डा हल्लेइट रिभास, सुडानका युवा व्यवसायी डा मेहदलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको युवा सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा परिषद् नेपाल, गुरुचेला एजुकेशन नेटवर्क, रोट्रयाक क्लब अफ पोखरा लेकसाइड, ट्र्याक नेपाल, जागृति युवा सरोकार केन्द्र र स्टेप अप फाउण्डेशन सहयोगी संस्थाका रुपमा रहेका छन् । त्यसअघि आज बिहान विभिन्न मुलुकका सहभागीले व्यानरसहित पोखराको मुस्ताङचोकबाट विरौटा हुँदै कार्यक्रम स्थलसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host