नक्कली प्रमाणपत्रको आरोपमा आचार्य र अग्रवाललाई ६ महिना कैद

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा विशेष अदालतले चितवनमा कार्य क्षेत्र बनाएका दुई चिकित्सकलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिबाना सुनाएको छ । आरोप ठहर भएर सजाय पाउनेमा डा. सुनिल आचार्य र डा. रजनी अग्रवाल रहेका छन् ।
शुक्रबार भएको फैसलाबाट विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उक्त सजाय सुनाएको हो । ०७२ फागुन महिनामा पक्राउ परी उनीहरु विरुद्ध नक्कली प्रमाणपत्र लिएको भन्दै विशेष अदालतमा र ठगी आरोपमा चितवन अदालतमा मुद्दा दर्ता भएको थियो । ठगी मुद्दामा चितवन अदालतले सफाइ दिएका उनीहरुलाई विशेष अदालतले नक्कली प्रमाण पत्र लिएकोमा भने सजाय सुनाएको छ ।
डा. अग्रवाल विरुद्ध ०७३ भदौ ७ गते र डा. आचार्य विरुद्ध ०७३ भदौ ८ गते विशेष अदालतमा नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दर्ता भएको थियो । मुद्दाको शुक्रबार फैसला भएको विशेष अदालतका प्रवक्ता नगेन्द्र पोखरेलले बताए । १ वर्ष ६ महिनापछि मुद्दाको सुनुवाइ भएको हो ।
उनीहरुले अरुसरह एमबिबिएस र मेडिकल काउन्सीलको जाँच पास पनि गरेका छन् । तर आईएस्सी वा एसएलसीको प्रमाणपत्र नक्कली भएकै आधारमा उनीहरुलाई मुद्दा चलाइएको थियो । प्रमाणपत्र बुझाउने क्रममा कतिपयले एसएलसी र आईएस्सीको प्रमाणपत्र नक्कली देखाएको भन्दै अनुसन्धान थालिएको थियो ।
सीआइवीको मिसन
त्यही प्रमाणपत्रका आधारमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्दै अनुसन्धान अगाडि बढाएको थियो । सिआईबीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को समन्वयमा अनुसन्धान अघि बढाएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अपरेसन क्वाक सञ्चालन गरेको थियो । नेपाल मेडिकल काउन्सीलसितको समन्वयमा दुई वर्षअघि चितवन पर्सालगायतका जिल्लाबाट सीआइवीले नक्कली चिकित्सकको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो ।
सामान्यतया काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकहरुले भविष्यमा आफूबाट कुनै कमीकमजोरी भएमा उक्त लाइसेन्स खारेजसम्म हुनसक्ने प्रावधानलाई स्वीकार गर्दै एउटा फाराममा हस्ताक्षर गरेका हुन्छन् ।
काउन्सिलको परीक्षामा ८ पटक र १३ पटकसम्म फेल भएका विद्यार्थी फेला पारेपछि यस्ता विद्यार्थी अरु कति रहेछन् भनेर काउन्सिलले पाँच वर्ष यता जाँच दिने सबै विद्यार्थीको विवरण छानविन गरिरहेको छ । छानविन गर्ने क्रममै काउन्सिलले करिब १६० को हाराहारीमा त्यस्ता विद्यार्थी फेला पारेको थियो ।
ठगी मुद्दामा सफाइ
डा सुनिल आचार्यलाई २७ लाख बराबरको विगो दावी र डा. रजनी अग्रवाल विरुद्ध १४ लाख ६२ हजार रुपैयाँ ठगी आरोपसहित अदालतमा मुद्दा दायर भएको थियो । तर उनीहरुले चितवन जिल्ला अदालतबाट यस मुद्दामा भने सफाइ पाएका थिए ।
नक्कली भनिएका चिकित्सकविरुद्ध मुलुकी ऐन ठगी महलअन्तर्गत आफूसँग नभएको क्षमता छ भनी झुटो काम गरेको भन्दै ठगी धन्दामा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host