गण्डक कमाण्ड क्षेत्रका किसानलाई राहत

नवलपरासी, ४ चैत (रासस): वर्षौदेखि डुबान र कटानको समस्या झेल्न बाध्य पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रका किसानले अब राहत पाउने भएका छन् ।
भारतको विहार सरकारले गण्डक संरचनाअन्तर्गत नहरको कुलो (डेन) सफा गरिदिएपछि किसानले राहत पाउने भएका हुन् । कुलो सफा भएपछि पानीको निकास हुने र वर्षौदेखि झेल्नुपर्ने डुबान र कटानको समस्या समाधान हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।
अहिले गण्डक नहरअन्तर्गत ५ आरडीदेखि ३२ आरडी करिब २७ हजार फिट लम्बाइ कुलो सफा गर्ने काम अन्तिम चरणमा पुगेको गण्डक सिँचाइ व्यवस्थापन डिभिजन, नवलपरासीले जनाएको छ ।
यो कुलो सफा गरेसँगै सुस्ता र प्रतापपुर गाउँपालिकाका किसानलाई पानीको सहज निकास भई यस क्षेत्रमा हुँदै आएको डुबान र कटानको समस्या समाधान हुने नेपाल गण्डक पश्चिम नहर पिपरपाती—प्रसौनी उपभोक्ता समितिका अध्यक्ष लोरिक यादवको भनाइ छ ।
करिब भारतीय रु पाँच करोडको लागतमा कुलो (डे«न) सफा गर्ने काम भइरहेको गण्डक सिँचाइ व्यवस्थापन डिभिजन नवलपरासीले जनाएको छ । अहिले भारतीय पक्षले गर्दै आएको कुलो सफा गर्ने कामलाई प्रभावकारी बनाउन अनुगमनको काम भइरहेको डिभिजन प्रमुख टीकाराम बरालको भनाइ छ ।
गण्डकको हरेक संरचना मर्मत सम्भार गर्ने भारतको जिम्मेवारी हुने भएपनि प्रत्येक वर्ष यस्ता संरचना मर्मत सम्भार नहुँदा गण्डक क्षेत्रका किसान हरेक वर्ष डुबान र कटानको समस्या झेल्दै आएका छन् ।
भारतीय पक्षले गण्डक सम्झौताअनुसार समयमै संरचना मर्मत सम्भारका काम गर्नुपर्ने यस क्षेत्रका प्रदेशसभा सदस्य अजय शाहीको भनाइ छ ।
नेपाल र भारतबीच २०१६ सालमा भएको गण्डक सम्झौताअनुसार गण्डकका सबै संरचना भारतले निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host