विकास निर्माणसँगै रोजगारी पाएपछि सुकुम्बासी हर्षित
झापा, झापाको गौरादह नगरपालिका ५ स्थित कटकपुर पल्लो सुकुम्बासी टोलका स्थानीयहरु विकास निर्माणमा जुटेका छन् । कारितास नेपालको ‘कामका लागि नगद कार्यक्रम’ अन्र्तगत स्थानीयहरु अहिले दैनिक ५ सय रुपैया ज्यालामा सडक निर्माणमा जुटेका हुन् ।
बाढी प्रभावित क्षेत्रका स्थानीयहरुको जनजीवनलाई सहज गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो । यो कार्यक्रम अन्र्तगत वर्षामा रतुवा खोलाले क्षति पुर्याएको ६ सय मिटर लम्बाईको सडकको स्तरउन्नतीमा स्थानीयहरु जुटेका हुन् । कारितास नेपालको २ लाख १४ हजार ४२ रुपैया र गौरादह नगरपालिकाको १ लाख ६५ हजार गरी कुल ३ लाख ६९ हजार ४२ रुपैयाको लागत सो सडकको स्तर उन्नती सुरु गरिएको हो । सो सडकमा ग्राभेल र ह्युम पाईप समेत राखिने वडा अध्यक्ष छत्रपति सुवेदीले बताए ।
कारितास नेपालको आर्थिक सहयोग र अभियान नेपालको सहजिकरणमा संचालन भइरहेको कार्यक्रमले स्थानीयहरुलाई पनि निकै मद्दत पुगेको छ । आफ्नै गाँउमा सुरुभएको विकास निर्माणका कामले रोजगारी मिलेपछि उनीहरु निकै दंग पनि छन् ।
स्थानीयहरु सडक निर्माणकालागि दैनिक ८ घण्टा श्रम गरिरहेका छन् । टोलमा रहेका काम गर्न सक्ने उमेरका स्थानीयहरु दैनिक सडक निर्माणमा निस्कन्छन् । चैत्र मसान्त भित्रमा काम सम्पन्न गर्ने गरी १ सय ५७ जना स्थानीयहरु सडक निर्माण जुटिरहेका छन् ।