संघीयता स्थापित गर्न सञ्चारकर्मीको अहम भूमिका

कैलाली, ८ फागुन (रासस) ः प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयतालाई सफल रुपमा स्थापित गर्नका लागि सञ्चारकर्मीको अहम् भूमिका रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले आज आयोजित प्रदेश नं ७ का नवनिर्वाचित मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयतालाई सफल तुल्याउन सञ्चारकर्मीको अझ बढी महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

भर्खरै मात्र प्रदेश सरकार गठन गरेका छौँ, अस्तव्यस्तता छ, अभावै अभाव छ, सबै कुरा आफँैले निर्माण गर्नुपर्ने छ, आफँैले त्यसको प्रयोग गर्नुपर्ने र सुविधा लिनुपर्ने अवस्था देखिएको मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘त्यसकारण हामी एउटा संघीयताको दिशामा अघि बढिसकेकाले सञ्चार माध्यमबाट प्रवाह हुने सन्देशहरु संघीयतालाई स्थापित गर्न मद्दत गर्दछ ।’

कार्यक्रममा उहाँले ७ नं प्रदेशमा धेरै प्राकृतिक स्रोतलगायत विभिन्न सम्भावना हँुदाहँुदै पनि पाउनुपर्ने विकास र प्रगति नभएको बताउँदै अब त्यसको भरपूर उपयोगका लागि सञ्चारकर्मी, राजनीतिक दल, सचेत नागरिकलगायत सबैले आ-आफ्नो तर्फबाट योगदान दिनुपर्ने समय आएको छ भन्नुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले राजनीतिक र पत्रकारिता क्षेत्र दुवै देश सञ्चालनका लागि अहम् भूमिकामा रहेको बताउनुभयो । सञ्चारकर्मीले देशमा भइरहेको भ्रष्टाचार न्यूनीकरण तथा सुशासनका लागि पहरेदारको भूमिका निभाउनुपर्ने आवश्यकता रहेको मन्त्री शाहले बताउनुभयो ।

त्यस्तै, आर्थिक तथा योजनामन्त्री झपटबहादुर बोहराले मुलुकलाई आयातीत अर्थतन्त्रबाट मुक्त गर्न र प्रदेशलाई समृद्धिको प्रदेशतर्फ उन्मुख गर्ने चुनौती रहेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन तथा प्रदेश सरकार सञ्चालन गर्ने सन्दर्भमा सञ्चारकर्मीको भूमिका अहम् रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउदले संघीयता कार्यान्वयन तथा भर्खरै निर्माण भएको प्रदेश सरकार सञ्चालन गर्ने सन्दर्भमा महासंघका तर्फबाट सकारात्मक राय र सुझाव दिने कुरामा कुनै कन्जुस्याइँ नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host