बन्दका क्रममा बीसभन्दा बढी पक्राउ

काठमाडौँ, ८ फागुन (रासस) ः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

मध्यपुर थिमि- ३, चारदोवाटोमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले निस्कृय पार्दै । तस्वीर ः लक्ष्मी गारु, भक्तपुर, रासस

प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको राससलाई बताउनुभयो । उहाँले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभिन्न स्थानमा आज नक्कली बम राखेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सिंहदरबार आसपासको क्षेत्रबाट तीन र गौशालाबाट एकजना पक्राउ गरेको उहाँले बताउनुभयो । राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिन झँै सामान्य दैनिकी चलेको उहाँको भनाइ छ ।

यसैबीच, नेकपाका महासचिव चन्दले आज जारी गर्नुभएको विज्ञप्तिमा देशभरबाट सयौँ नेता तथा कार्यकर्ता पक्राउ गरिएको उल्लेख छ । पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव चन्दले आग्रह गर्नुभएको छ ।

सिद्धलेक गाउँपालिकाको कालीरहमा पर्ने कालुपाण्डे मार्गमा मंगलबार राखेको सकेटबम निस्कृय पार्दै देबीदत्त गणका बम डिस्पोजल टोली । तस्वीर ः सीताराम अधिकारी, धादिङ

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host