धादिङबेसीमा धादिङ महोत्सव हुने

धादिङ, १० फागुन (रासस) : साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङद्वारा यही फागुन १६ गतेदेखि २७ गतेसम्म नीलकण्ठ नपा- ४ धादिङबेसी रायटारमा धादिङ महोत्सव-२०७४ को आयोजना गरिँदैछ ।

‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य रहेको छ ।

आयोजक संस्थाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा राखिने २२० स्टलमध्ये १८० स्टलको बुकिङ भइसकेको र अन्य तयारी काम समेत ८५ प्रतिशत सम्पन्न भइसकेको बताउँदै अध्यक्ष रामलाल श्रेष्ठले महोत्सव अवधिभर हेलिकप्टरद्वारा गणेश हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीयस्थलको दृश्यावलोकन र हात्तीद्वारा धादिङबेसी बजार परिक्रमा गर्ने व्यवस्थासमेत मिलाइएको जानकारी दिनुभयो ।

बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा कला प्रदर्शन, कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host