कान्छी मन्त्रीले भनिन्, ‘दशैंअघि नै मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउँछु’
काठमाडौं, ७ चैत्र, नेपाल सरकारकी कान्छी मन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् । ३० वर्षमा बनिनसकेको र राजधानीले सधैँ अपेक्षा गरेको आयोजना दशैँसम्ममा सम्पन्न गर्ने उनले अर्को आश्वासन दिएकी हुन् । उनले भनिन्, ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोहीअनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंबासीलाई आशावादी हुन आग्रह गर्छु ।’खानेपानी तथा सरसफाई मन्त्री विना मगरले पनि मन्त्री नियुक्त भएपछि यसअघिका मन्त्रीले झैँ आयोजनाको स्थलगत अनुगमन गरी जनतासामू अर्को अपेक्षाको घडी हस्तान्तरण गरेकी छिन् । यसअघिका मन्त्री तथा खानेपानीका प्रमुखहरुले एक महिना, दुई महिना भन्दै ढाँटे पनि मन्त्री मगरले भने एकै पटक सात महिनाको भाका राखेकी हुन् ।आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री मगरले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ ।’ संविधानको धारा २५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेको भन्दै उनले आफूले कडा रुपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौं भित्रिने मुख्यद्वार रहेको सुन्दरीजलसम्म पानी ल्याउने गरी निर्माण कार्यलाई अघि बढाउन निर्देशन समेत दिएको बताइन् ।
उनले असारभित्रै* मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिमद्वार) ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् । ‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु’ –उनले भनिन् । मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरुलाई आग्रह समेत गरिन् ।