ज्येष्ठ नागरिकका लागि शतचण्डी महायज्ञ
त्रिशूली(नुवाकोट), ८ चैत(रासस): देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले शतचण्डी महायज्ञ शुरु भएको छ ।
प्रतिष्ठानको कार्यालय देवीघाटमा बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुने यज्ञमा शतचण्डी महायज्ञका साथमा सबै जातजातिका १०८ कन्या पूजन हुने प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले बताउनुभयो ।
महायज्ञको शुभारम्भ गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नेपाली संस्कार र संस्कृतिको संरक्षणका लागि पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पं वासुदेव उपाध्यायले लेखेको ‘चतुर्वेद अष्टादश महापुराण’ शीर्षक पुस्तक विमोचन गरिएको थियो ।
महायज्ञ सञ्चालनका लागि आयोजक संस्था देवीघाट प्रतिष्ठानले प्रचारप्रसार, व्यवस्थापन जस्ता छ उपसमिति गठन गरी काम गरिरहेको प्रचारप्रसार समितिका संयोजक विष्णुप्रसाद सापकोटाले बताउनुभयो । प्रतिष्ठानले देवीघाटमा जेष्ठ नागरिक सेवा आश्रमसमेत सञ्चालनमा ल्याएको छ । सत्तरी जना क्षमता रहेको उक्त आश्रममा हाल आठ जना छन् । आश्रममा लिफ्ट प्रविधि राखिएको र यो नेपालकै नमूना आश्रम रहेको प्रतिष्ठानको जिकिर छ ।