“न्यायाधीश कोइराला भन्छन् : फोनमा, कुरा सुनिदिए,को मात्रै हो, फट्याइँ गरेको छैन”

“मेरो सिधा कुरा छ, मैले फट्याईं गरेको छैन । मलाई धेरै दबाव आएकाले १५/२० दिन फोन स्वीच अफ गरेको थिएँ, टेलिकममा हेर्दा पनि थाहा होला’ उनले भने, ‘कुरा त सुनिदिनुस् भनेर जबर्जस्ती गरेकाले सुनेको हुँ ।”

“८ असार, काठमाडौं । कानून व्यवसायीसँगको घुसवारेको अडियो विवादमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूले घुस खाने नियत नराखेको दावी गरेका छन् ।”

“अनलाइनखबरसँग कुराकानी गर्दै उनले कानून व्यवसायी रुद्र पोखरेलले आफूलाई झुक्याएर फोन गरेको र बारम्बार आफ्नो कुरा सुनिदिन आग्रह गरेकाले फोनमा कुरा गरेको बताए । सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद हालै सार्वजनिक भएको छ । न्यायाधीश कोइरालाले भने आफूले कुरा सुनिदिएको मात्र बताएका छन् ।”

‘त्यो मुद्दा हेर्न थालेदेखि नै मलाई निकै फोन आउन थाल्यो । अनि मैले स्वीच अफ गरेर बसेको थिएँ’ उनले भने, ‘श्रीमतीको फोन (सेट) मा सिमकार्ड फेरेर अर्को नम्बर राखेको थिएँ । कताबाट थाहा पाएर फोन गरे ।’ फोन आउदा आफू नुहाउन बाथरुममा छिरेको र श्रीमतीले रुद्र पोखरेल भनेर नाम देखिएको बताएपछि कुरा गरेको कोइरालाको भनाइ छ ।”

“उनका अनुसार, फोन उठाएपछि पोखरेलले कुरा सुरु गर्नासाथ यही विषयमा प्रवेश गरे । सुरुमा फोन नगर्नुस् भनेर आफूले पन्छाएको भन्दै कोइरालाले दोहोर्‍याएर फोन गरेर पैसाको प्रलोभन देखाएको बताए ।”

“उनले फोन गर्नेवित्तिकै यसो छ, उसो छ भनेका थिए’ न्यायाधीश कोइरालाले अनलाइनखबरसँग भने, ‘पैसाको कुरा नगर्नुस् हजुर, म डराएँ, खुट्टा कमाएँ । मेरो बुबाको सम्पत्ति छ, हजुरबुबाले कमाइदिएको सम्पत्ति छ । त्यतिले पुग्छ, मलाई एक रुपैयाँ लोभ छैन भनेको छु ।’ सुरुमा आफूसँग भएको धेरै कुराकानी बाहिर नआएको उनको दावी छ ।”

“फोन गरेपछि रेस्पोन्स नगर्ने कुरा पनि भएन । बारको कोषाध्यक्ष जस्तो मान्छेले कुरा गरेका छन् । हो हो भन्नैपर्‍यो’ उनले भने, ‘सुरुमा मैले मलाई फोन नगर्नुस् । कुनै हालतमा हुदैन भनेको थिएँ । त्यसपछि उनले ‘कुरा सुन्नुस् न कुरा सुन्नुपरेन ?’ भनेपछि ल ल के रहेछ कुरा भनेर कुरा सुनेको र हो मा हो मिलाएको हुँ ।’ त्यो संवाद समेत बाहिर नआएको उनको दावी छ ।”

“न्यायाधीश कोइरालाका अनुसार, सिभिल सहकारीको ठगी मुद्दामा धेरै पीडित थिए । इजलासमा मुद्दाको सुनुवाइका क्रममा कतिपय पीडितहरु आफ्नै अगाडि आएर रुने, कराउने, चिच्याउने गरेको उनले बताए । ‘मैले हुदै हुदैन । सक्दै सक्दिन भनेको थिएँ’ उनले भने, ‘उनले (पोखरेल)ले कुरा पनि नसुन्ने कुरा त सुनिदिनुस् भनेपछि त्यति कुरा गरेको हुँ ।’

“न्यायाधीश कोइरालाका अनुसार, इच्छाराज तामाङ लगायतका आरोपित जोडिएको सिभिल सहकारीको मुद्दामा धेरै जनाको दबाव थियो । धेरैले फोन गरेपछि उनले स्वीच अफ गरेर आफू बसेको बताए ।”

“मुद्दाका लागि उच्च अदालतका न्यायाधीशदेखि राजनीतिक दलका नेता, प्रहरी अधिकारीको समेत आफूलाई फोन आएको न्यायाधीश कोइरालाले बताए । कतिपयले आफ्नो ड्राइभरको फोनबाट समेत सम्पर्क गरेको उनले बताए ।”

‘मैले गर्दिन, मबाट हुँदैन । मानिसहरु पीडित छन् भनेको हुँ । कतिपय ठूलै मान्छेको फोन आउँछ, उठाइदिनै पर्‍यो’ उनले भने, ‘(त्यो मुद्दाका लागि) मलाई कसले फोन गरेन होला र ?’ तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने फोन नगरेको कोइरालाले बताए । पछि आफैंले तामाङलाई थुनामा पठाउन आदेश दिएको उनले बताए ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host