“भुवन केसीलाई हिरो बन्ने मौका, ‘लाइगर’लाई बिहीवार रिलिज हुनबाट रोक्लान् ?

“काठमाडौं : २०७६ सालको एउटा घटना स्मरण गरौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई थिए । त्यही समयमा बलिउड फिल्म ‘कलंक’ बुधवारबाट प्रदर्शनको तयारीमा थियो । नेपालमा शुक्रवार फिल्म रिलिज गर्नुपर्ने नियम भए पनि ‘कलंक’को नेपाल वितरक मनोज राठीको समुहले बुधवार नै फिल्म रिलिज गर्न बोर्डसँग सेन्सरको अनुमति माग्यो । तर, केशव भट्टराईले अनुमति दिएनन् ।”

“भट्टराईले सेन्सर अनुमति नदिएपछि ‘कलंक’ भारतमा बुधवार रिलिज भए पनि नेपालमा शुक्रवार मात्रै रिलिज भयो । उनको यो कदमलाई अधिकांश फिल्मकर्मीले स्वागत गरे । वितरक र हल व्यवसायीहरुका लागि भने उनी भिलेन बने । तर, अध्यक्ष भट्टराईले सलमान खान अभिनीत फिल्म ‘भारत’लाई भने जिल्ला अदालतको आदेशका कारण शुक्रवारअघि रिलिज गर्नबाट रोक्न सकेनन् ।”

“त्यसपछि बलिउड फिल्म जुनसुकै मिति र बारमा नेपालमा सजिलै प्रदर्शन हुँदै आएका छन् । कुनै अध्यक्षले शुक्रवारअघि बलिउड फिल्मको रिलिज रोक्न सकेका छैनन् । दुई हप्ताअघि बलिउड फिल्म ‘लाल सिंह चढ्ढा र ‘रक्षा बन्धन’लाई बिहीवार रिलिज गर्नबाट बोर्ड अध्यक्ष भुवन केसीले पनि रोक्न सकेनन् । रोकुन् पनि किन ! विदेशी फिल्मकै विकास शुल्कबाट बोर्डको दानापानी चल्छ ।”

“तर, बोर्ड अध्यक्ष हुनुअघि तिनै भुवन हुन्, जसले नेपाली फिल्मझैं विदेशी फिल्म पनि शुक्रवार नै हलमा लाग्नुपर्ने आवाज उठाउँथे । बोर्डमा पुगेपछि उनको त्यो आवाज मत्थर बनेको छ । हुनत, उनको बोर्डको कुर्सी नै असुरक्षित छ । उनको नियुक्तिलाई लिएर मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उनको कुर्सी जोगिन्छ वा जोगिन्न, सर्वोच्चको हातमा छ ।”

“कयैन् फिल्ममा हिरो बनेका भुवनलाई यसपटक फिल्म क्षेत्रको हिरो बन्ने मौका मिलेको छ । त्यो कसरी भने, यही बिहीवार भारतीय फिल्म ‘लाइगर’ प्रदर्शन हुँदैछ । जबकि, शुक्रवार दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ लाग्दैछन् । ‘लिगर’ एक दिन अगाडि आउँदा दुई नेपाली फिल्मलाई असर गर्छ । ‘लाइगर’लाई शुक्रवार अगाडि प्रदर्शन गर्नबाट रोक्न सके भुवन केसी वास्तविक हिरो बन्नेछन् । फिल्मीखबरबाट साभार”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host