गजलमा प्रेम र सीमा मिचिएका कुरा
काठमाडौँ, ९ चैत(रासस): ‘मिचेको छ सीमा, चलेको छ गोली
उही भन्छ खेलौँ न सद्भावको होली’(मधु पोखरेल, मोरङ)
जनसाहित्यिक मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा–४५’ मा मोरङका मधु पोखरेल र दोलखाका जीत कार्कीले छिमेकीबाट भएको सीमा मिचाइ, युवा पलायन, क्रान्तिकारीको कथनी र करनीमा देखिएको भिन्नता, बोक्सी–छाउपडी–आत्महत्या घटनाको विरोध गर्दै गजल वाचन गर्नुभएको थियो ।
ती गजलमाथि टिप्पणी गर्दै उपप्राध्यापक रुपक अलङ्कारले दुवैका गजलमा राष्ट्रवादिता र आशावादिताका साथै प्रेमप्रणयका विषय पनि झल्किएको बताउनुभयो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गजल निकै शक्तिशाली र प्रभाव छाड्ने खालका हुँदारहेछन् भन्नुभयो । मञ्चका काव्य विभाग प्रमुख डा विन्दु शर्माले जनसाहित्य यात्रामा कविता मात्र वाचन गरिएकामा गजल वाचनलाई पनि मौका दिइएको बताउनुभयो । मञ्चका अध्यक्ष राम विनयले आगामी शृङ्खलामा आख्यानकार विजय चालिसेसँग अन्तर्कि्रया गरिने जानकारी दिनुभयो । चार वर्षअघि शुरु भएको जनसाहित्य यात्रामा हालसम्म राजधानी र मोफसलका ५० जनाले कविता र गजल वाचन गर्नुभएको छ ।
‘सुनाऊँ के गरी आफैँ म हारेको कथा हो यो
मलाई जिन्दगीले भष्म पारेको कथा हो यो”