मर्केल र म्याक्रोनद्वारा गुटामा युद्धविराम गराउन पुटिनसँग आग्रह

ब्रसेल्स, बेल्जियम, १० फागुन (रासस/एएफपी) : जर्मनी र फ्रान्सले सिरियाली शहर गुटामा पछिल्लो समय सिरियाली सेनाको हवाई तथा स्थल कारबाहीलाई रोक्न आग्रह गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र जर्मन चान्सलर एन्गेला मर्केलले शुक्रबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणलाई रोक्न पत्र लेखी आह्वान गर्नुभएको छ, फ्रान्सको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यूरोपियन यूनियन (इयू) सम्मेलनमा सहभागी हुने सिलसिलामा ब्रसेल्स पुग्नुभएका यूरोपेली शक्तिशाली दुई नेताले रसियालाई पत्राचार गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएका भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका बताइएको छ ।

उहाँहरूले रसियालाई सिरियाबारेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव तयार पार्न सहयोग गर्न पनि आह्वान गरेको बुझिउको छ ।

रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असद सरकार नेतृत्वको सेनाले विगत केही समय यता गुटा क्षेत्रमा कारबाही चलाउदा सयौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको छ । उक्त क्षेत्र सिरियाली विद्रोहीको आधार क्षेत्र मानिन्छ ।

सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host