हनुमन्तेबाट छ गाडी फोहोर संकलन
भक्तपुर, १० चैत (रासस): हनुमन्ते नदी सफाइको चौथो हप्तामा आज नेपालका चर्चित हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ सरसफाइमा लाग्नु भएको छ ।
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको नदी सफाइ अभियानमा प्रमुख अतिथिको रुपमा आउनुभएका कलाकार तथा समाजसेवी धुर्मुसले नेपाल र नेपाली जनता आफ्नो देश निर्माणमा सक्षम रहेको बताउँदै आफ्नो समय र परिस्थितिले साथ दिएमा प्रत्येक हप्ता हनुमन्ते नदी सफाइ अभियानमा संलग्न हुने उद्घोष गर्नुभयो ।
बाराही मन्दिरदेखि राम मन्दिरसम्म भएको सफाइ अभियानमा आज छ गाडी फोहोर संकलन गरिएको छ । १०० हप्ता चल्ने यो अभियानमा नदी मात्र नभई सम्पूर्ण भक्तपुर जिल्लालाई नै सफा र सुन्दर बनाउने बताइएको छ ।
अभियानमा भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख तथा आयोजक कमिटिका संयोजक वासुदेव थापा, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको सहभागिता रहेको थियो ।