एक दृष्टिविहीनको प्रेरणादायी वृत्तान्त

जमुना शर्मा- कास्कीको लाहाचोकस्थित बाइनाटाकुराका लागि केही पत्रकार साथीहरु बसमा जाँदै थियौँ। हेम्जाको मिलनचोकदेखि ३ सय मिटर अलि पर बाटोको छेऊ एक मानिस हिँडिरहेका थिए। उनलाई देखेर बसभित्रका एक व्यक्तिले भने, ‘अण्डा बेच्ने मान्छे हुन्, आँखा देख्दैनन्।’
उनलाई भेट्न पाए हुन्थ्यो भन्ने तीव्र इच्छा मनमा जागिरहँदा उनलाई धेरै पछाडि छाडेर हामी चढेको बस निकै अगाडि पुगिसकेको थियो। गाडीमा चढेका व्यक्तिले भनेका थिए, तपाईँहरु फर्कँदा यही बाटोमै भेट्नुहुन्छ उनलाई।
नभन्दै फर्कँदा फेरि उनलाई देख्यौँ।
बाटोको छेऊमा उनलाई रोकेर फोटो खिच्न हतारियौँ र केही कुरा सोध्न पनि। उनको नाम रामप्रसाद भण्डारी रहेछ।
विगत १० वर्षदेखि यही बाटोमा उनले अण्डाको ब्यापार गर्दै आएका रहेछन्। ५१ वर्षीय उनी घाहाचोक लम्साल थर निवासी रहेछन्। ७ कक्षा सम्म धुमिल आँखाको सहारामा पढ्दै गरेका उनले त्यसपछि अक्षर देख्न छोडे। मोतियाविन्दुको अप्रेशन गरे पनि उनको दृष्टि फर्किएन।
त्यसपछिका उनका दैनिकी कष्टमा बदलियो। विगतका धेरै फेहरिस्तमा उनी अल्मलिन चाहेनन् भने- ‘म दृष्टिविहीन हुँ, सहानुभुतिको पात्र बनेर हात फैलाउन मेरो नैतिकताले कहिल्यै दिएन, मेहनतमा विश्वास गर्छु र आज पर्यन्त मेहनतले नै मलाई पालिरहेको छ।’
भण्डारीका श्रीमती टुल्की भण्डारी र दुई छोरा छन्। नातिनातिनाका हजुरबुबा समेत बनेका भण्डारीका छोराहरु छुट्टिएर आफ्नै संसारमा ब्यस्त छन्। श्रीमती र आफ्नी दिदी जो बोल्दिनन् (लाटी), उनको जिम्मेवारी पनि भण्डारीमाथि छ। आय आर्जनका लागि दैनिक १६ किलोमिटरको यात्रा उनका लागि सहज बन्ने गरेको छ।
बिहान हिँडेका उनी अण्डा बेच्दै हिँड्दा बेलुका घर पुग्छन्। अक्सर १ दिन बिराई उनी पोखरा सिम्पानीमा चोकमा अण्डा खरिद गर्न आउँछन्। २१ सिट अण्डा बोेकेर गाडीको रफ्तार हुने बाटो सेतो छडीले छिचोल्दै तय गर्छन्। हेम्जा मिलनचोक हुँदै अण्डा बेच्दै हिँड्छन्। कहिले घर पुग्दा अण्डा बेचेर सकिन्छ त कहिले केही रहन्छ। बाँकि अण्डा भोलिपल्ट बेच्छन्।
विश्रामसँगै टाउको टोपीले अनुहारको धुलो पुछ्दै उनी भन्छन्, ‘जिन्दगीका कुनै नौला रहर र सपना छैनन्।’ दृष्टिविहीन भएर बाँच्न विवश र अपांगता भएकाहरुको एउटा प्रेरणा स्रोत बनेका उनी गाउँलेबाट निकै राम्रो प्रशंसा बटुलेका छन्। अण्डा ब्यापार गर्नु अघि मुडा बुनेर र मैनबत्ती बनाएर जीविकोपार्जन गर्ने गरेका उनले मुडा र मैनबत्तीको ब्यापार सहज नभएपछि अण्डा ब्यापार रोजेको बताए। ‘शुरुमा दृष्टिविहीनले अण्डा ब्यापार कसरी गर्न सक्छ रु लड्यो भने अण्डा फुट्छ। यस्तो जोखिमको ब्यापार नि के रोजेको होलारु’ यस्ता अनेक कुरा उनले सुने तर आत्तिएनन् किनकी एउटा आत्मविश्वास र इच्छाशक्ति उनमा थियो।
‘काम नगर्नेहरुकालागि जुन सुकै काम कठिन लाग्छ जब गर्दै गइन्छ सहज हुन्छ।’ उनको अनुभव भन्छ। १० वर्ष सम्मको यो अनवरत यात्रामा त्यस्ता केही कठिन परिस्थितिसँग पनि जुध्नु भएको छ किरु उनी भन्छन्, ‘समय सधै एकनास हुँदैन, केही पहिले बाटोमा उच्छृखंल स्वभावका ब्यक्तिबाट लुटिएँ। हार गुहार गरेर बच्न सफल भएँ।’ यात्रामा कहिलेकाहिँ लड्नु स्वभाविक ठान्छन्। ‘एकचोटि लड्दा केही अण्डा फुटे। फेरि पनि उठे र लम्के त्यही बाटोमा। निरन्तर हिँडिरहँदा यो बाटोका ढुंगामाटो, रुखविरुवा, पातपतिंगर नै उनलाई साथी जस्तो लाग्दै गए ।’ अभ्यस्त छन् एउटै दैनिकीमा।
मेहनत अनुसारको उनको कमाइ छैन। एकचोटि अण्डा बेच्दा ५र६ सय उनको कमाइ हुन्छ। रमाउँछन् यो उमेरमा पनि थकाइ लागेको छैन। झरी बादल घाम भनेर बस्न मन लाग्दैन। उत्साह र ऊर्जा मिल्छ, यो जीवनको सन्तुष्टि नै त्यहि हो।
कसैसँग कुनै गुनासो छैन उनलाई। हात खुट्टाले साथ दिए सम्म यो ब्यापार गरिरहन मन छ भन्छन्। उनी अपांग समन्वय समितिको सदस्य छन् भने घाचोक स्वावलम्वन समितिको अध्यक्ष भएर काम समेत गर्दै आएका छन्।
सरकारले अपांगता भएकालाई उनीहरुको क्षमता र दक्षता अनुसारको सिप र रोजगारी दिन सके अपांगताहरुको जीवनमा परिवर्तन आउने धारणा राख्छन्। विशेष परिस्थितिले अपांगता हुने पुगेकालाई विचरा र बराको पात्र बनाउनु भन्दा स्वाबलम्बन बनाउनेतिर सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host