म्याग्दीको बेनी नगरपालिका भित्र रहेका सडकको वर्गीकरण र क्षेत्राधिकार निर्धारण

निपोल न्यूज़ संबाददाता,  म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सडकको वर्गीकरण गरी क्षेत्राधिकारसमेत निर्धारण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका सडकलाई चार वर्गमा विभाजन गरी दायाँ र बायाँको अधिकार क्षेत्र कायम गर्नुका साथै नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्रका सडकको वर्गीकरण र मापदण्डसमेत निर्धारण गरेको नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिए । राष्ट्रिय तथा प्रदेशस्तरीय वर्गमा राखिएको बेनी-रत्नेचौर- बागलुङ र मालढुंगाबेनी-जोमसोम सडकको क्षेत्राधिकार ३० मिटर र छ मिटर सेटब्याक हुने निर्णय भएको छ ।
नगरपालिकाको (ए) वर्गमा सूचीकृत बेनी सिंगा हुँदै मंगाल गाउँपालिका जोड्ने सडकको सेटब्याकसहितको क्षेत्राधिकार २० मिटर तोकिएको छ । त्यसैगरी नगर र गाउँपालिकाका वडा जोड्ने सडकलाई (बी) समूहमा राखिएको छ भने १२ मिटर फराकिलो हुनुपर्ने मापदण्ड तय गरिएको छ । यो सडकको दायाँबायाँ घर बनाउँदा दुई-दुई मिटर खाली जग्गा छोड्नुपर्ने जनाइएको छ । (बी) वर्गमा बेनी पुलाचौर डडुवा, बेनी पात्लेखेत, महारानी छाप ठूलोखोला, गलेश्वर पात्लेखेत, बेनी थामडाँडा, दूधेखोला भकिम्ली, बेनी भकुण्डे गौस्वारा, नेप्टेचौर गिठीनी पात्लेखेत, बगरफाँट बाँगेरा भकुण्डे, आनन्दबगर हुँदै ढोडेनीखोला र नगर चक्रपथका रुपमा परिकल्पना गरिएको रत्नेचौर अर्जम ज्यामरुककोट भकिम्ली सिंगा पुलाचौर तोरीपानी गलेश्वर सडकलाई राखिएको छ ।
त्यसैगरी अन्य ३३ वटा सडकलाई (सी) श्रेणीमा वर्गीकरण गरिएको छ । उक्त वर्गमा पर्ने सडकको चौडाई दश मिटर र सेटब्याक दुई मिटर रहने जनाइएको छ । नगरपालिकाको हालको बजारभित्रका र बस्ती विकास भई शहरीकरण हुनसक्ने क्षेत्रका सडकलाई (डी) श्रेणीमा राखिएको छ । यी सडक पनि छ मिटर फराकिलो हुनुपर्ने र सडकको दायाँबायाँ दुई-दुई मिटर सेटब्याक राख्नुपर्ने मापदण्ड तोकिएको नगरपालिकाका इञ्जिनियर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host