सफल व्यावसायिक माछापालक बने तामाङ

तुलसीपुर, दाङ, १३ फागुन (रासस) : लमही नगरपालिका वडा नं ५ टिकुलीगढका अम्मरबहादुर तामाङ व्यावसायिक माछापालन गरेर एक सफल व्यावसायिक माछापालक बन्नुभएको छ ।

उहाँले हाल आठ बिघा जग्गामा आठ वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । अहिले बिहानैदेखि उहाँको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको देखिन्छ ।

विगत आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आउनुभएका तामाङ अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्नुहुन्छ । तामाङले अहिले स्थानीय सातजना व्यक्तिलाई रोजगारीसमेत दिनुभएको छ ।

माछापालनबाट अहिले वार्षिक रुपमा रु ४० लाख आम्दानी भए पनि सबै खर्च कटाएर वार्षिक रु २० लाख मात्र बचत हुने गरेको तामाङले बताउनुभयो ।“घरमा माछा लिन आएकाले पनि कसरी, कहिलेदेखि यसो गर्नुभयो भन्दै सोध्छन्, यहाँ आएका जोसुकैले पनि एक पटक पोखरी खन्ने सपना देखेर फर्कन्छन्,” उहाँले भन्नुभयो ।

शुरुमा धान, गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उहाँलाई गाह्रो भने नभएको होइन । गाउँ, समाज र घर परिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा बौलाउन थालेछ भन्नेहरु अहिले आफ्नो प्रशंसक भएको उहाँको भनाइ छ ।करिब आठ बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछा पालिएका छन् ।

यो वर्ष मात्रै २०० क्विन्टल भन्दा बढी माछा बिक्री भएको तामाङले बताउनुभयो । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । प्रतिकेजी रु २२० देखि २५० सम्मका दरले माछा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

शुरुका दिनमा माछा बिक्री गर्न छिटुवामा राखेर स्थानीय बजारमा लैजानुपथ्र्यो उहाँलाई । तर अहिले टाढा टाढाबाट घरमै माछा किन्न आउनेको भीड लाग्ने गर्छ ।

यस व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउने उहाँले आम्दानी पनि सोचेअनुसार गर्न सकिने हुँदा यस्ता आयआर्जनका व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host