व्यापारी दम्पती हत्याकाण्डका ‘सुटर’ पक्राउ
बुटवल — बुटवलका व्यापारी भण्डारी दम्पती हत्याकाण्डका योजनाकार तथा सुटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना दुधराक्षका अर्जुन गौतम रहेका छन् । हत्यापछि भारतमा लुकी बसेका गौतमलाई नेपाल आउँदै गर्दा रुपन्देही प्रहरीले शनिबार सीमा क्षेत्र बेलहियाबाट पक्राउ गरी आइतबार बुटवलमा सार्वजनिक गरेको हो ।
२०६७ असार ९ गते दिउँसो उनले बुटवल जेसिसचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक २४ वर्षीय रमेश भण्डारी र उनकी श्रीमती २८ वर्षीया आशा भण्डारीलाई गोली हानी हत्या गरेका थिए। हत्यालगत्तै पसलमा रहेको ५ लाख १८ हजार रकम समेत लुटेर लगेका थिए। अर्जुनसँगै गोली हान्ने उनका दाजु कृष्ण गौतम भने अझै फरार रहेको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए।
८ जनाको समूह हत्यामा संलग्न रहेको भन्दै रुपन्देही प्रहरीले घटनाको केही महिनामा ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। उनीहरुमध्ये ३ जना कर्तव्य ज्यानमा सर्वस्वसहित जेल चलान भएका छन्। ३ जना सहयोगी भने छुटेका छन्।
इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको करिब २ सय मिटरको दूरीमा रहेको बुटवलको मुख्य व्यापारिक केन्द्रमा भएको हत्याकाण्डपछि शान्ति सुरक्षाको माग गर्दै व्यवसायी लामो समयसम्म आन्दोलनमा उत्रेका थिए।