माेही जिल्लिँदै
दाङ — राप्ती गाउँपालिका ३ खुरुरियाका ६० वर्षीय रामशरण चौधरी जग्गामा मोही हक पाउन जिल्ला भूमि सुधार जान थालेको वर्षौं बित्यो । तारेख धाउँदा-धाउँदा थाकिसके । जग्गा पाउन भने अझै सकेनन् ।पहिले एउटै जमिन्दारको नाममा जग्गा थियो । अंशबण्डा र अन्यत्र बेचबिखन गर्दा जग्गाधनी धेरै भए । उनीहरुलाई भेटाउन कठिन छ । ‘पहिले एउटाको नाममा थियो, अहिले अंशबण्डा गर्दा ६ जना पुगे । बिक्री भएकाको नयाँ जग्गाधनी आए,’ उनले भने, ‘सबै जुटाउँदा(जुटाउँदा बेहाल भइसक्यो ।’ लामो समय तारेख धाएपछि उनले केही त पाए तर अझै तारेख धाइरहेका छन् ।
खुरुरियाकै ४५ वर्षीय अमर चौधरीले पहिले एउटा धनी भएको जग्गामा अहिले ७ जनालाई खोज्नुपरेको छ । ३ बिघा १७ कट्ठामा मोही भएकोमा हालसम्म ५ कट्ठामा कुरा मिलेको छ । अरुमा तारेख धाइरहेका छन् । ‘जग्गाधनी भनेको समयमा उपस्थित हुँदैनन् । केही अरु जिल्ला छन्, केही विदेश,’ उनले भने, ‘झुलाएर हामीलाई दु:ख दिने भए । तारेख धाउँदा धेरै खर्च र दु:ख पाइसकेँ जग्गा भने पाइएको छैन ।’ कतिपयले किसानलाई झुक्याएर मोही कटाइसकेका छन् ।
लमही नगरपालिका ३ सोनपुरका रामनारायण चौधरीले हजुरबुवा दुखरामको नाममा पाएको मोहीको हक अहिलेसम्म पाएका छैनन् । जग्गाधनीले मोहीलाई थाहै नदिई २ बिघाभन्दा बढी जमिनको मोही कटाएछन् । अहिले उनी बाँकी १४ कट्ठा १९ धुरमा तारेख बोकिरहेका छन् । ‘हामीसँग मोहीको प्रमाणपत्र छ तर मोही कोही पनि छैन भन्ने कागजात बनाई हाम्रो नाम कटाएको थाहा भयो,’ उनले भने, ‘भूमिसुधारमा फर्जी कागजात पेश गरेर हाम्रो नाम काटेको रहेछ ।’जग्गाधनीले झुक्याएर मोही कटाउने र मोही भएको जग्गामा पनि विभिन्न बाहना गरेर समय नदिने गरेको खुरुरियाका ५८ वर्षीय रामप्रसाद चौधरीले बताए । ‘जमिन्दारले छलफलका लागि समय नै दिँदैनन् । हामीमात्रै तारेख बोक्न जानुपर्छ,’ रामप्रसादले भने, ‘मोही पाइहाले पनि लाग्ने सबै खर्च हामीले नै व्यहोर्नुपर्छ । तारेख धाउँदाको खर्च व्यहोर्न पनि कठिन भइसक्यो । थकाइथकाई जग्गा नदिने योजनामा जग्गाधनी छन् ।’
राप्ती गाउँपालिका(४ मौरीघाटका हरिराम चौधरीको नाममा ४ बिघा जग्गामा मोही थियो । ०५३ मा नक्कली कागजात तयार पारी मोही नभएको भनेर उक्त जग्गा मोहीविहीन बनाइएछ । १५ वर्षपछि मात्र भतिजा पतराम चौधरीले उक्त कुरा थाहा पाए । अहिले उनी मुद्दा लड्ने तयारीमा छन् । तुलसीपुर १९ बिजौरीकै गोबद्र्धन चौधरी पनि ३ बिघा १ धुर जग्गामा मोही भएको प्रमाणपत्र बोकेर भूमिसुधार कार्यालय धाइरहेका छन् । तारेख बोक्न थालेको लामो समय भइसक्यो तर अहिलेसम्म केही निकास छैन ।धनीले जग्गा नदिने अडान लिने र तारेखमा झुलाउने गरिरहेको खुरुरियाका ६० बर्षीय परग चौधरीले बताए । ‘जमिन्दार अर्को जिल्ला बस्छन् । फोन गरेर जति बोलाउँदा पनि समय छैन भन्छन् । हामीसँग मोही प्रमाणपत्र छ तर जग्गाधनी मोही नै छैन भनेर जिद्धी गर्छन्,’ उनले भने, ‘हामीलाई जमिन्दार खोजी गर्नै कठिन भएको छ । मुद्दा लडा लाग्ने खर्च धान्नै नसक्ने भयौं ।’
निमित्त भूमिसुधार अधिकारी मानबहादुर कुँवर जग्गाधनी र मोही किसान मिलेर आए मुद्दाको टुंगो लगाउन सजिलो हुने बताउँछन् । मोही किसान बोल्न नसक्ने र दबाबमा पर्ने भएकाले सजिलै न्याय पाउन कठिन भएको उनको भनाइ छ । ‘किसानहरु धाकधम्की र दबाबमा परेको देखिन्छ । उनीहरु जग्गाधनीलाई छलफलमा ल्याउन सकिरहेका छैनन्,’ उनले भने, ‘दुवै पक्ष नआउँदा लामो समयसम्म तारेख धाउँदा पनि मोहीले जग्गा पाउन सकेका छैनन् ।’
जग्गाधनीको मनशाय किसानलाई थकाउने खालको नै रहेको उनले बताए । ‘कतिपय मोहीको मृत्युपछि नामसारीको समस्या छ । मृतकका सन्तानमध्ये जग्गाधनीले एकलाई रोज्न पाउने भएकाले यसमा समस्या भएको देखिन्छ,’ उनले भने, ‘जग्गाधनीको मनशाय सकभर मोहीलाई थकाउने, गलाउने र जग्गा नदिने खालको देखिन्छ । यसबाट मोही बढी नै पीडित छन् ।’ सकभर दुवै पक्षलाई मिलेर आउन अनुरोध गरिरहेको र कुनै कारणवश मिल्दै नमिले कानुनअनुसार न्याय दिलाउन सकिने उनले बताए । हाल जिल्लामा मोहीसम्बन्धी २ हजार ३ सय १२ मुद्दा रहेकामा ६४ को मात्रै टुंगो लागेको उनले बताए । अझै २ हजार २ सय ४८ मुद्दा किनारा लाग्न बाँकी रहेको कुँवरले जानकारी दिए ।
मोही किसानलाई न्याय दिने सवालमा सन्तोषजनक काम नभएको उनले स्वीकार गरे । ‘हाम्रा कारणले मात्रै मुद्दा टुंगिन ढिला भएको छैन । मोही किसान र जग्गाधनीको कागजी प्रक्रिया नमिल्दा पनि ढिला भएको छ,’ उनले भने, ‘कतिपय मोहीका सन्तानबीच पनि विवाद छ । विवादले मुद्दा लम्बिँदै जान्छ ।’