प्रदेश ७ लाई समृद्ध बनाउन बजेट केन्द्रित हुने : अर्थमन्त्री बोहरा

अछाम, १४ चैत (रासस): प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नं ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताउनुभएको छ ।
यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउनुभयो । सदरमुकाम मंगलसेनमा प्रेस सेन्टर, अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्तभित्रै यस क्षेत्रको विकासका लागि विशेष बजेटस्वरुप रु एक खर्ब दुई करोड पाँच लाखको बजेट ल्याउने बताउनुभयो ।
“जनतालाई मेरो सरकार हो भन्ने अनुभूति दिलाउनका लागि प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ, उहाँले भन्नुभयो, समावेशी र आर्थिक समानतासहितको बजेट भूगोल, जनसंख्याको आधारमा विनियोजित गर्ने भन्दै कृषकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने तयारी छ ।” अहिले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसके पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा खाद्यान्न संकट हटाउने गरी बजेट तर्जुमा भइरहेको जानकारी गराउनुभयो ।
बोहराले नेपालमा करमा एकद्वार प्रणाली लागू गर्ने भन्दै संघीयता कार्यान्वयन भएको नचाहनेहरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाइरहेको आरोप लगाउनुभयो । आफू अछामबाट निर्वाचित सांसद भएकाले अछामका लागि विशेष बजेटको व्यवस्था गर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host