दुर्गन्धित बन्यो त्रिशूली किनार
कुरिनटार । स्थानीय सरकार बनेको करिब एक वर्ष पुग्न लाग्दासमेत त्रिशूली नदीमा फोहोर फाल्ने काम रोकिन सकेको छैन । इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वी राजमार्ग आसपास बसोबास गर्दै आएका स्थानीयले अहिले पनि त्रिशूली नदीमा फोहोर फाल्ने गरेका छन् । जसकारण नदी किनार नै फोहोर फाल्ने डम्पिङ साइट बन्दै आएको छ । बजारको नजिकै राजमार्गबाट सीधै नदीमा फोहोर फाल्दा नदी दिनानुदिन प्रदूषित बन्दै गएको देखिन्छ ।
अहिले कुरिनटार, मुग्लिन वरपरको राजमार्गमा यात्रा गर्दा पनि मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ । त्रिशूली नदी किनारमा भएका क्रसर उद्योगले बालुवा धोएर प्रशोधन नगरी सिधै नदीमा मिसाइएकोले नदी फोहोर बन्दै गएको गुनासो बढेपछि अहिले ती क्रसर उद्योगहरू केही बन्द छन् भने केही उद्योगले आडैमा खाल्डो खनेर व्यवस्थापन गरेका छन् ।
तर, स्थानीयस्तरबाट निस्किएका फोहोरमैला व्यवस्थापन हुन नसक्दा त्रिशूली नदीले मुहार फेर्न सकेको छैन । मुहानबाटै फोहोरमैला बढ्दै गएपछि चितवनका युवाले सुरूवात गरेको नारायणी नदी सरसफाइ अभियानले पनि सफलता पाउन सकेको छैन । मनलाग्दी तरिकाले नदीमा फोहोर फाल्नेलाई स्थानीय सरकारले कारबाहीको दायरामा ल्याउन नसक्दा नदीजन्य प्राणी संकटमा पर्ने खतरा बढ्दै गएको छ ।
मुग्लिन बजारमा फोहोरमैला व्यवस्थापनको लागि त्रिवेणी युवा क्लबले नियमितरूपमा मासिक शुल्क उठाउँदै आए पनि फोहोरमैला व्यवस्थापनको काम भने गर्न सकेको छैन । नदीमा फोहोर मिसाउँदै आएका स्थानीयलाई स्थानीय सरकारले व्यवस्थापन गर्न नसक्दा समस्या जस्ताको त्यस्तै रहेको युवाहरु बताउँछन् । स्थानीय सरकारले भने फोहोरमैला व्यवस्थापनको लागि उचित स्थानको अभावले काम हुन नसकेको बताएको छ । गाउँपालिकाले यो आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापनको लागि दश लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
‘तर, भौगोलिक अवस्थाले गर्दा डम्पिङ साइटको लागि जग्गा नै पाउन सकेको छैन,’ गाउँपालिका प्रमुख गीता गुरूङले भनिन्, ‘हामी जग्गा खोजीमै छौँ ।’
फोहोरमैलाको श्रृङ्खला नरोकिएकोले राजमार्ग आसपास बसोबास गर्ने सबैलाई आफ्नो घरबाट निस्कने फोहोरमैलाको व्यवस्थापन आफैँले गर्न निर्देशन दिइसकेको उनले बताइन् । ‘सम्बन्धित वडाका अध्यक्षहरूलाई आ–आफ्नो वडाबाट निस्कने फोहोरमैलाको व्यवस्थापन गर्न निर्देशन दिइसकेकी छु,’ उनले भनिन्, ‘अब छिट्टै फोहोरमैला व्यवस्थापन हुन्छ ।’ फोहोरमैला व्यवस्थापनको लागि गाउँपालिकाले कुरिनटार आसपासमा जग्गा खोज्ने काम गरिरहेको उनले बताइन् । एउटै व्यक्तिको जग्गा पाउन गाह्रो भएकोले दुईतीन जनासँग सल्लाह गर्नुपर्ने हुँदा जग्गा पाउन नसकेको उनले बताइन् ।
स्थानीय सरकार मौन
पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको भरतपुर महानगरपालिकाले नारायणगढको ढल व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म काम हुन सकेको छैन ।
करिब एक महिनाअघि महानगरकी प्रमुख रेनु दाहालसहितको टोलीले नदी किनारको निरीक्षण गरी ढल व्यवस्थापनको काम तत्काल गर्ने प्रतिबद्धता जनाएको थियो । तर, कामको सुरूवातसमेत नहुँदा स्थानीय युवाहरूले चलाएको नदी सरसफाइ अभियानले पनि सार्थकता पाउन सकेको छैन । उद्योग वाणिज्य संघ चितवनले भने स्थानीय सरकारले काम गर्न नदिएको बताएको छ । अहिले पनि उमाशंकर ट्रष्ट, वे ग्रुप, रक्तदाता समूह, सुनौलो समाज चितवन, विद्यार्थीलगायतले सरसफाइको लागि दबाब दिइरहेका छन् । तर, भरतपुर महानगरपालिकाले यस विषयमा कदम चाल्न सकेको छैन ।