बलेवामा राष्ट्रिय ध्वजावाहक
बागलुङ — निजी कम्पनीले व्यावसायिक उडान सुरु गरेको सातापछि बलेवा विमानस्थलमा नेपाल एयरलाइन्सले पनि सेवा सुरु गरेको छ ।बिहीबार काठमाडौंबाट १८ यात्रु बोकेर एनएको जहाज बलेवामा अवतरण गरेको हो । यसअघि तारा एयरलाइन्सले परीक्षण र व्यावसायिक उडान गरिसकेको छ । विमानस्थलको प्रशासनिक र सुरक्षा लगायतका कामले अपेक्षित गति नलिए पनि विमानले उडान भने सुरु गरेका हुन् ।
जहाज लिएर आएका क्याप्टेन पेम्बा शेर्पाले विमानस्थलमा खाल्डाखुल्डी सम्याउन आवश्यक रहेको बताए । तारबार नहुँदा घरायसी पशु र कुकुर छिर्ने समस्या हटाउनुपर्ने सुझाव पनि उनले दिए । काँडेतार लगाइएको भए पनि कुकुर, गाईबस्तु र अन्य जंगली जनावर छिर्ने गरेको प्रहरीले जनायो ।
‘क्याप्टेन सापले दिनुभएको सुझाव ठीक हो, हामीलाई पनि यो चुनौती भएको छ,’ इलाका प्रहरी कार्यालय बलेवाका प्रहरी सहायक निरीक्षक धनबहादुर थापाले भने, ‘काँडेतारले मान्छेलाई मात्र रोक्छ, पशुलाई सकिन्न ।’ १ हजार १ सय मिटर लामो धावनमार्गको वरिपरि सबै प्रहरी बस्न नसक्ने भएकाले तारबारलाई मसिनो प्वाल भएको तारले घेर्नुपर्ने उनले बताए ।
क्याप्टेन शेर्पाले पनि घाँसलाई नियमित काट्ने, ढुंगा वा अन्य वस्तु हटाउने र मैदानमा पर्न सक्ने प्वालबारे सचेत रहनुपर्ने सुझाव दिए । बिहीबार उनले जहाज अवतरणपछि धावनमार्ग पैदलै वारपार गर्दै त्यहाँ देखिएका समस्याबारे जानकारी गराएका हुन् ।
पोखरापछि बढी पानी पर्ने स्थान भएको र रातो माटोको मैदान भएकाले चिप्लिने जोखिमबारे उनले औंल्याएका थिए । नियमित जहाज सञ्चालनको अवस्था भएमा आगामी वर्ष भने नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्गलाई पक्की बनाउने आश्वासन दिइसकेको छ । हाल विमानस्थलमा यात्रीलाई मात्र प्रवेश दिने गरी घेरबार छैन । चाहेको समयमा जोसुकै छिर्न सक्ने भएकाले नियन्त्रण गर्न गाह्रो भएको हो । विमानस्थलमा यात्रीलाई जानकारी दिने विद्युतीय सामग्री पनि छैनन् । त्यस्तै तौल मेसिन र लगेज लैजाने बाटो व्यवस्थापन बाँकी नै छ ।
विमानस्थल प्रवेशमा कडाइ
चितवन– भरतपुर विमानस्थलले यात्रुबाहेकका अन्य व्यक्तिलाई विमानस्थल प्रवेशमा कडाइ गर्न थालेको छ । विशिष्ट व्यक्ति आउँदा विमानस्थलको संवेदनशील क्षेत्रमा लाग्ने भीडले सुरक्षा संवेदनशीलता बढाएकाले वैशाख १ देखि कडाइ गर्न लागेको हो । भरतपुर विमानस्थलका प्रबन्धक पवनकुमार गौतमले अति विशिष्ट र विशिष्ट व्यक्तिको स्वागतमा अब सीमित व्यक्ति मात्र जान पाउने बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख आउँदा स्वागतका लागि १० जना मात्रै जान पाउने व्यवस्था मिलाउँदै छौं,’ उनले भने, ‘स्वागतका लागि जानेहरूको सुरक्षा जाँच हुनेछ । त्यसपछि मात्र उनीहरूले पास पाउनेछन् ।’
उपप्रधानमन्त्री, मन्त्री र पार्टीका केन्द्रीय पदाधिकारीलाई स्वागत वा बिदाइ गर्न विमानस्थलभित्र पाँच जना मात्रै जाने व्यवस्था मिलाएको गौतमले बताए । कार्यविधिका विषयमा जानकारी दिन विमानस्थल कार्यालयले बुधबार सर्वपक्षीय छलफल राखेको थियो ।
पार्टी प्रतिनिधिहरूले भने स्वागतका लागि जाने व्यक्तिहरूको संख्या बढाउन माग गरेका छन् । ‘स्वागत तथा बिदाइका लागि १५ जनासम्म जाने व्यवस्था गर्दा उपयुक्त होला,’ छलफलमा सहभागी कांग्रेस चितवनका सचिव राजीव न्यौपानेले भने ।
राष्ट्रिय मान्यता प्राप्त पार्टीका प्रमुख आउँदा पनि स्वागतका लागि विमानस्थलभित्र १० जनालाई छिर्न दिने कार्यविधिमा उल्लेख छ । यी बाहेकका भीआईपीहरूलाई बढीमा दुई जनाले मात्रै स्वागत गर्ने विमानस्थल प्रबन्धक गौतमले बताए ।
भीआईपी स्वागत तथा बिदाइका लागि विमानस्थल आउने व्यक्तिहरूको नाम सम्बन्धित पार्टीले भरतपुर विमानस्थल कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ ।
उडान प्रभावित
संखुवासभा– तुवाँलोले तुम्लिङटार विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । नियमित उडान नहुँदा बिरामी हेलिकप्टर चार्टर गर्न बाध्य छन् । विमानस्थललाई तुवाँलोले ढाकेको छ । उडान नहुँदा हेलिकप्टर चार्टर गर्न बाध्य भएको बिरामीका आफन्तले बताए । बुधबार मात्रै खाँदबारी नगरपालिका ७ का ६५ वर्षीय नारायण चागापाईंलाई हेलिकप्टर चार्टर गरेर राजधानी लगिएको छ ।
उनी गोपालभगत मेमोरियल अस्पतालबाट रेफर भएका थिए । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको र जहाज आउने सम्भावना नभएपछि हेलिकप्टर चार्टर गर्नुपरेको छोरा अनुजले बताए । ‘सडक सुविधा राम्रो छैन,’ उनले भने, ‘राजधानी पुर्याउन धुलाम्मे सडकबाट समस्या भयो । त्यसैले चार्टर गरें ।’ हेलिकप्टर चार्टर गर्न ३ लाख लागेको उनले बताए । सुविधासम्पन्न विमानस्थल भए पनि मौसमको खराबीले नियमित उडान नहुँदा बिरामी मर्कामा परेका छन् । ‘एयरपोर्ट वरिपरि बाक्लो तुवाँलो छ,’ यती एयरका इन्चार्ज शेरबहादुर गुरुङले भने, ‘घाम लागे पनि तुवाँलो हटेन । पानी नपरेसम्म तुवाँलो हट्ला जस्तो छैन ।’
मौसममा खराबी आएपछि बुद्ध, यति र सीता एयरलायन्सले बुधबार पनि उडान भर्न सकेनन् । उडान नहुँदा दैनिक सय बढी यात्रु अलपत्र पर्ने गरेका छन् । १ हजार ५ सय मिटर लामो धावनमार्ग कालोपत्रे भए पनि उडानका लागि भिजिबिलिटी कम छ ।