आत्मनिर्भरताका पर्याय ‘रिसल्ला प्रजा’
रत्ननगर । ‘चेपाङ’ भन्नासाथ विपन्न र परनिर्भरतामा जीविका गर्ने समुदाय भनेर चित्रण गर्ने गरिन्छ । तर, यस्तो बुझाइलाई असत्य सावित गरिदिएका छन्, रत्ननगर–१४ रामलीलाचोकका रिसल्ला प्रजाले ।
उनी आफूलाई चेपाङ भनेर चिनाउन चाहँदैनन् । चेपाङ जात हो, प्रजा थर । प्रजाले भटाभट चेपाङ लेखाउन थालेकोमा उनी आश्चर्यमा परेका छन् । भन्छन्, ‘बाहुनका पनि थुप्रै थर छन्, उनीहरुले बाहुन नै भनिराख्नु पर्दैन । प्रजाले पनि चेपाङ भनिराख्नु आवश्यक छैन ।’
परनिर्भरता सोचको उपज भएको उनी ठान्छन् । भन्छन्, ‘जन्मजात नै कोही धनी र गरिब भएर जन्मिँदैनन् । सबैले परिश्रम गर्नुपर्छ । बाँच्नलाई गाह्रो छैन ।’ चेपाङबस्तीमा अनिकाल प¥यो, गिठ्ठाभ्याकुर खाएर पेट पाल्छन् चेपाङ, वर्षभरिको मिहनतले ६ महिना खान पुग्दैनजस्ता कुरा सुन्दा उनलाई टिठ होइन रिस उठ्छ । किनभने, चेपाङ जातिमा अनावश्यक खर्च गर्ने परम्परा रहेको उनी बताउँछन् । भन्छन्, ‘हुँदा आँखै नदेख्ने गरी खर्च गर्ने प्रवृत्ति छ । जोगाउनुपर्छ, भोलि पनि खानुपर्छ भन्ने चेतना छैन अनि कसरी बन्न सकिन्छ आत्मनिर्भर ?’
उनी आफ्नोबारे भन्छन्, ‘म पनि चेपाङकै सन्तान हुँ । मेरा पनि तीन छोरा र तीन छोरी छन् । सधैँ आशावादी नै भइयो भने कसरी बनिन्छ र आत्मनिर्भर ? आफैँले संघर्ष गर्नुपर्छ । मिहिनेत गर्नुपर्छ । जहाँ बसे पनि सजिलै जीविकोपार्जन गर्न सकिन्छ ।’
उनले भनेजस्तै ६ सन्तानको पालनपोषण, शिक्षादीक्षाका लागि उनलाई कुनै समस्या छैन । किनभने, उनले प्रजा भैंसीपालन फार्म खोलेका छन् । गोठमा ६ वटा भैंसी पालिएको छ । दैनिक १० लिटर दूध बिक्री गर्छन् । कुखुरा पालन गरेका छन् । बाख्रा पालन गरेका छन् । तरकारी खेती गरेका छन् । परम्परागत र अर्गानिक खेती गरेर कृषिमा उदाहरणीय किसान बन्न सफल भएका छन् ।
धादिङको जोगीमाराबाट ०३२ सालमा चितवन आएका उनी कृषि पेसा गरेरै आत्मनिर्भर बनेका छन् । ०६४ सालदेखि घरमा गोबर ग्यास जडान गरेर इन्धनको बचत गरेका छन् । उनको परिवारलाई कृषि पेसामै भ्याइनभ्याइ छ । सिंचाइका लागि दुईवटा जेनेरेटर र ३ वटा थ्रेसर भाडामा लगाउने गर्छन् । पुरानो ट्याक्टर बिक्री गरेका उनले ऋणधन गरेर नयाँ ट्याक्टर किन्ने योजना बनाएका छन् ।
उनकी जेठी छोरी तारादेवी स्नातक सकेर अध्ययनका लागि जापान जाने तयारी गर्दैछिन् । कान्छी छोरी जुनाले भर्खरै मोरङ इन्जिनियरिङ क्याम्पसमा नाम निकालेकी छन् । अन्य छोराछोरी पनि अध्ययन गर्दैछन् । रिसल्ला भन्छन्, ‘श्रीमती र छोराछोरी मिलेर खेतीपाती र पशुपालनमा सघाउँछन् । जे गर्दैछौँ परम्परागत तरिकाले नै खेती किसानी गर्दैछौँ । कहीँकतैबाट तालिम र अनुदान लिएको छैन ।’
उनले केही समयअघि माछापालन र बंगुरपालन पनि गरेका थिए । तर, सबैतिर समय दिन नभ्याउँदा बन्द गर्नुप¥यो । सिजनअनुसार सबै किसिमका तरकारी, केरा खेती, फलफूल तथा अन्नबाली लगाउने उनी मिहिनेत नगरी एकछिन बस्नै सक्दैनन् ।
उनले आफ्नो १५ कट्ठा र ठेक्काको एक बिघा जग्गामा तरकारी खेती गरेका छन् । भन्छन्, ‘खर्च यसरी नै चलेको छ । आत्मनिर्भर भएर परिवार पालेर वार्षिक पाँच लाख रुपैयाँ कमाइ गरेको छु ।’ सामान्य साक्षरमात्र रहेका रिसल्लाले पढाइको मह¤व राम्रोसँग बुझेका छन् । भन्छन्, ‘छोराछोरीलाई पढाए आफ्नै खुट्टामा उभिन सक्छन् भनेर पढ्ने जतिलाई पढाएँ । अझै दुःख गरेर उनीहरुले चाहे जति पढाउँछु ।’
उनी आफ्नै कारण चेपाङ समुदायको जीवनस्तर माथि उठ्न नसकेको बताउँछन् । भन्छन्, ‘माथि डाँडामा सधैँ अनिकाल परेको खबर सुनिन्छ । अनिकाल सहेर डाँडामा किन बस्ने ? तल झरेर जग्गा ठेक्का लिएर मज्जाले जीविका गर्न सकिन्छ । संघर्ष गर्छु भन्नेका लागि सधैँ एकैठाउँमा बसेर प्रगति हुँदैन ।’